मंगलबार, माघ ८, २०८१
22:32 | ०४:१७

ब्राजिलमा कोरोनाबाट २४ घन्टामा तीन हजार ४७२ को मृत्यु  

रासस-सिन्ह्वा अप्रिल २२, २०२१

तस्विर एएफपी

रियो डे जेनेरियो– ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ सङ्क्रमणबाट तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड–१९ सङ्क्रमणमा परेका तीन हजार ४७२ जनाको एकै दिनमा ज्यान गएको हो ।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेप्नु परेको समाचारमा जनाइएको छ । यस तनावका कारण यहाँका नागरिकमा जन स्वास्थ्य सम्बन्धी सुविधा पुरयाउन नै समस्या भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो छ । साओ पाओलोमा मात्र ९० हजार भन्दा पनि बढी नागरिकको ज्यान गएको छ ।

त्यसैगरी, सो राज्यमा करिब २८ लाख नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । यहाँका नागरिकले कोरोनाका विरुद्धको खोप पनि लगाएका छन् । तर, हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि खोप मात्र पनि प्रभावकारी नदेखिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू