मंगलबार, माघ ८, २०८१
22:31 | ०४:१६

रसियाद्वारा चेक गणतन्त्रका २० कूटनीतिज्ञलाई देश निकाला   

रासस–एएफपी अप्रिल १९, २०२१

मस्को, ६ बैशाख– रसियाले चेक गणतन्त्रका २० जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ । गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कूटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच आरोप प्रत्यारोप जारी छ ।

सन् २०१४ मा चेक गणतन्त्रको स्क्रिपालस्थित सैनिक शिविरमा बिस्फोटमा रसियाको संलग्नता रहेको चेक गणतन्त्रको दाबी छ । यस घटनामा दुई जनाको मृत्यु भएको थियो ।

यसैबीच, प्रहरीले बिस्फोटमा संलग्न रहेको आशंका गरिएका दुई जना रसियालीको खोजी गरिरहेको जनाएको छ । ती दुई व्यक्तिले नै पूर्व रसियाली डबल एजेन्ट सर्गेई स्क्रिपाललाई सन् २०१८ मा लन्डनमा घातक विष–आक्रमण गर्न पासपोर्ट प्रयोग गरेको प्रहरीको भनाई छ । चेक सञ्चार माध्यमले ती दुई रसियालीहरु अलेक्जान्डर मिशकिन र अनातोली चेपिगोभ रहेको जनाएका छन् ।

स्क्रिपाल आक्रमण पश्चात् सार्वजनिक गरेको बिस्फोट स्थल र तस्वीरका भिडियो फुटेजमा आधारित रहेर चेक सञ्चार माध्यमले यस्तो घोषणा गरेका हुन् । तर रसियाले आइतबार उक्त दाबी कपोलकल्पित रहेको जनाएको छ । चेक गणतन्त्रको उक्त दाबी र कारबाही लगत्तै रसियाले मस्कोस्थित चेक गणतन्त्रको राजदूतावासमा कार्यरत २० जना कर्मचारी कूटनीतिज्ञलाई सोमबारसम्म देश छाड्न आदेश दिएको छ ।

पछिल्ला दिनहरुमा रसिया र पश्चिमी मुलुकहरुबीच कैयौं विषयलाई लिएर मतान्तर चुलिएको छ । खासगरी युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिक परिचालन बढाइएको, अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको तथा अन्य आक्रामक कारबाहीहरु गरेको पश्चिमी मुलुकहरुको आरोप छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू