लन्डन-ब्राइटन च्यारिटी साइकल यात्रामा निस्किए दुई दर्जन अभियन्ता
लन्डन । नेपालस्थित अनाथ बाल गृह र वृद्धाश्रमको सहयोगार्थ एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले आयोजना गरेको च्यारिटी साइकल यात्रा शुरु भएको छ । च्यारिटी यात्रामा सहभागी २३ जना सामाजिक अभियन्ता शनिबार बिहान ८ बजे साउथ इष्ट लन्डनको वुल्वीचबाट ब्राइटनतर्फ प्रस्थान गरेका छन् ।
वुल्वीचदेखि ब्राइटनसम्मको ६४ माइल लामो यात्रा करिब ८ घण्टा लगाएर दिउंसो ४ बजेसम्म पूरा गर्ने योजना छ ।
एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले साइकल यात्रा उद्घाटन गरेकी छन् । उनले परोपकारी उद्धेश्य राखेर गरिएको साइकल यात्राको प्रशंसनीय रहेको भन्दै सफलताको शुभकामना पनि दिइन् ।
आयोजक एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले इभेन्टलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । साइकलयात्राका सह-आयोजक संस्था, यात्रामा सहभागी सामाजिक अभियन्ताहरु, सहयोग एवम् हौसला प्रदान गर्ने संघसंस्थासहित इभेन्टद्वारा संकलित कोषमा आर्थिक सहयोग दिनेहरुप्रति पनि अध्यक्ष श्रेष्ठले आभार प्रकट गरे ।
त्यस अवसरमा हेल्प नेपाल नेट्वर्कका प्रसिद्ध प्रधान र नेप्लिज् युथ एशोसिएसनका अध्यक्ष लछुमन गुरुङले पनि च्यारिटी साइकल यात्राको इभेन्ट र आफ्नो संस्थाको संलग्नताबारे बताए । वुल्वीच आर्सनल राइडर्स् (वार) क्लबका सदस्य समेत रहेका ह्यारी गुरुङले साइकल यात्राको तयारी र रुटबारे जानकारी गराए ।
साइकल यात्रा शुभारम्भका बेला आरजीएनएसका अध्यक्ष जीत रानाभाट र महासचिव मन्जु भण्डारी, पशुपतिनाथ मन्दिर लन्डनका पण्डित ज्योतिषी निलहरि घिमिरे, इनास यूकेका संरक्षक मनिष श्रेष्ठ र अध्यक्ष विनोद चिपालु, तमुधिं यूके पूर्व अध्यक्ष कमल गुरुङ, एनआरएनए मानार्थ सदस्यद्वय मोहन गुरुङ र कर्ण शाही, पशुपतिनाथ मन्दिर सचिव कल्पना त्रिपाठी, ग्रीनवीच भलिबल परिवारका सचिव कृष्ण खरेल, सामाजिक अभियन्ताहरु राजन खकुराल, प्रसुना कंडेल, पुण्य रेग्मी, राजन सुवेदी, योगेश गुरुङ, आनन्द लोहनी लगायत शुभकामना दिन वुल्वीच पुगेका थिए ।
एनआरएनए यूके, हेल्प नेपाल नेटवर्क तथा नेपाली युथ एशोसिएसनको सहकार्यमा एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले आयोजना गरेको यो च्यारिटी साइकल यात्रामा वुल्वीच आर्सनल राइडर्स् (वार) क्लबका सदस्यहरुको सक्रिय सहभागिता छ । जुन क्लबमा एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराई, इंग्ल्याण्ड परिषद अध्यक्ष दिपक श्रेष्ठ, क्याट यूके अध्यक्ष जीवन सेन, हङकङ नेपाली मञ्च अध्यक्ष ह्यारी गुरुङ, हेल्प नेपाल नेटवर्कका प्रसिद्ध प्रधान र सचिन श्रेष्ठ, नेप्लिज युथ एशोसिएसनका अध्यक्ष लछुमन गुरुङ, सुरज गुरुङ लगायत आबद्ध छन् ।
च्यारिटी साइकल यात्रामा क्लबका सदस्यहरुबाहेक धरान रन संचालक धावक सन्तोष राईसहित बेलायतका विभिन्न क्षेत्रबाट सामाजिक अभियन्ताहरु सहभागी छन् ।
इभेन्टमार्फत संकलित कोषबाट यसअघि नै हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एकलाख ९२ हजार रुपैयां सहयोग हस्तान्तरण गरिसकिएको छ ।