बेलायतमा कोरोना संक्रमण निरन्तर घट्दै, ३४ को मृत्यु
दुई हजार ५ सय ९६ संक्रमित
लन्डन । बेलायतमा बितेको २४ घन्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ३० जनाको मृत्यु भएको थियो । कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २२५ पुगेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा छ ।
यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ५ सय ९६ जना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
यससंगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८३ हजार ७३२ पुगेको छ । बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ३७ हजार ५१५ छ भने ४१ लाख १८ हजार ८३२ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो एकसातामा संक्रमण डर ८.५ प्रतिशतले घटेको सरकारी तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । अहिले भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३२९ छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा २०४ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार २९१ मा झरेको छ ।
४ करोड १५ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड १५ लाख ५ हजार ७६८ डोज वितरण भएको छ ।
तीन करोड २५ लाख ७४ हजार २२१ जनाले पहिलो र ८९ लाख ३१ हजार ५४७ जनाले खोपको दोस्रो डोज लिएका छन् ।