सोमबार, पुष २९, २०८१
01:42 | ०७:२७

लन्डनका नेपालीले मनाए भर्चुअल नयाँ वर्ष

नेपाली लिङ्क अप्रिल १६, २०२१

लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूके र नेपाली साहित्य विकास परिषद् यूकेले संयुक्तरूपले नेपाली नयाँ वर्ष २०७८ मनाएका छन् । गीत, संगीत र कविता वाचन गरी नयाँ वर्ष मनाइएको हो ।

जुममार्फत आयोजित उक्त समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि यती संस्थाका पूर्व अध्यक्षवरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीइ’ ले जहाँ बसे पनि नेपाली भाषा, साहित्य र संस्कृति सँगै बोकेर हिंडेको बताए । ‘यही नै हाम्रो नेपाली परिचय, पहिचान, शक्ति र एकताको प्रतिक हो । यसलाई हामी सबैले जोगाएर भावी सन्ततिहरूमा सार्दै जानु पर्दछ’ उनले भने ।

अतिथि यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष कवि ध्रुव केसीले जहाँ नेपाली मन पुग्दछ त्यहाँ नेपाली पन पनि पुरयाउनु पर्दछ भन्दै नेपाली भाषा, साहित्य संस्कृति, लोकसंस्कृति, पहिरन, रितिरिवाज, चाडपर्व सबै नेपाली पहिचान भएका र त्यसलाई जोगाएर राख्न जोड दिए ।

कार्यक्रमका सभापति सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेका अध्यक्ष माधव पराजुलीले नेपाली नयाँ वर्ष मनाएर आफ्नो गाउँ घर, जन्मभूमि, संस्कार र संस्कृतिको सम्झना गर्दै सिर्जना र साहित्यमा स्वदेशको उपस्थिति गराएका उल्लेख गरे ।

नेपाली साहित्य विकास परिषद यूकेका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले जन्मकुण्लीसँग जोडिएको रगतको नाता रहेको नेपाली नयाँ वर्ष परिषदले आफ्नो स्थापनाकाल  सन् १९९५ देखि नै निरन्तर मनाउँदै आइरहेको जनाए । 

कार्यक्रम सञ्चालन गर्दै नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले नेपाली माटोको सुभास बोकेको नेपाली नयाँ वर्ष आगमनले हरेक वर्ष स्वदेश पुरयाउने बताए । ‘यसले हामीलाई आनन्द त दिन्छ नै, हामी सिर्जनामा देश बोक्छौं र मुटुभित्र नेपाल सजाउंछौ’, शाहले भने ।  

कार्यक्रममा साहित्यिक संस्थाहरू साहित्य चौतारी यूकेका संयोजक वरिष्ठ साहित्यकार वासु शर्मा, विश्व नेपाली साहित्य महासंघ दक्षिण उत्तर शाखा बेलायतका अध्यक्ष कवि विजय हितान, अन्तराष्ट्रिय नेपाली वाङ्गमय प्रज्ञा प्रतिष्ठानकी महासचिव कवयित्री मञ्जु भण्डारी र नेपाली मुक्तक प्रतिष्ठानकी सदस्य कवयित्री प्रतिमा केसीको सिर्जनात्मक उपस्थिति थियो ।

गीत संगीत, ठट्यौली, कविता वाचन र साहित्यको मिश्रण रहेको उक्त कार्यक्रममा बालकलाकार क्रेट दाहालले बाँसुरीको धुन प्रस्तुत गरेका थिए भने कलाकार योगेश पराजुलीले राष्ट्रिय भावका गीतहरू गाए ।

त्यसैगरी, सर्जक अर्कराज तिमिल्सिनाले ठट्यौलीहरू प्रस्तुत गरे भने अमेरिका न्युयोर्कबाट कवि कोमल भट्टले लयवद्ध एकाक्षरी कविता वाचन गरेका थिए ।        

यसैगरी हरिसिँह थापा, कोमल प्रसाद श्रेष्ठ मल्ल, ध्रुव केसी, माधव पराजुली, वसन्त रायक्षेत्री, वासु शर्मा, डा. सुधा श्रेष्ठ, कल्पना आङबुहाङ, डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’, विजय हितान, मन्जु भण्डारी, कल्पना त्रिपाठी, प्रतिमा केसी, अहिल्या कुँवर, चुडामणी रेग्मी, विनोद न्यौपाने, योगेश पराजुली, रमेश दाहाल, संजिता देउजा कार्की, सरिता ढकाल, दीप गिरी र सुरेशजंग शाहले कविता वाचन गरे ।

कार्यक्रममा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेका महासचिव दिलिप पौडेलले स्वागत मन्तव्य दिएका थिए ।    

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू