बेलायतमा २ हजार ६ सय संक्रमित, ३० को मृत्यु
४ करोड ९ लाख बढी खोप वितरण
लन्डन । बेलायतमा बितेको २४ घन्टामा दुई हजार छ सय ७२ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
यससंगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८० हजार ९७६ पुगेको छ । इंग्ल्याण्डमा तीन महिना भन्दा लामो लकडाउन गत सोमबारबाट खुल्ला गरिएको छ ।
लकडाउनका कारण संक्रमण दरमा कमी आएको र लकडाउनपछी पुन: संक्रमण बढ्न सक्ने धेरैको अनुमान छ । यद्धपि कोरोना विरुद्धको खोपलाई तीव्रता दिएसंगै संक्रमणमा पहिला जस्तो वृद्धि नहुने अनुमान गरिएको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ४० हजार ४४७ छ भने ४१ लाख १३ हजार ३३८ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार १९१ पुगेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा छ ।
अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । बिहीबार सार्वजनिक तथ्याँक हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३५१ छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा २०१ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार ३९३ मा झरेको छ ।
४ करोड ९ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ९ लाख ५८ हजार ३०३ डोज वितरण भएको छ ।
तीन करोड २४ लाख ४४ हजार ४३९ जनाले खोपको पहिलो र ८५ लाख १३ हजार ८६४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।