मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।
अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ । प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावका पक्षमा मतदान गर्ने प्रदेशसभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य कुमार खड्काले जानकारी दिए ।
नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बनिसकेपछि संविधानको धारा १८८ (२) अनुसार गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिनाको समयसीमा नाघ्दासमेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेको प्रस्तावक दलले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्रीले हठात् अधिवेशनको अन्त्य गरेको भन्दै भर्त्सना गरे ।
माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारका विरुद्ध विकल्पमा सरकार दिनुपर्छ भन्ने कुरामा आफूहरू एकमत बनेको धारणा राखे । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आफूहरू सहमतिका साथ अघि बढ्दै प्राविधिक कुरा मिलाएर जाने बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५