सोमबार, पुष २९, २०८१
23:30 | ०५:१५

गोर्खा आन्दोलनका लागि सुखद रहनेछ नयां वर्ष

कृष्ण कुमार राई अप्रिल १४, २०२१

कृष्णकुमार राई

गत वर्षबाट विश्व महामारीका रुपमा फैलिएको कोभिड—१९, कोरोना भाइरसले लाखौं मानिसको ज्यान लियो भने करोडौं प्रभावित भए । अझै पनि विश्वका कतिपय देशहरुमा प्रकोप भयावह रुपमा देखा पर्न थालेको समाचारहरु पढ्न पाइरहेका छौं । सर्वप्रथम यस भाइरसले गर्दा अनाहकमा ज्यान गुमाउनु परेका विश्वका सबै मानिसहरुको मृतात्माले चिर शान्ति पाउन् भन्दै उनीहरुप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

यस प्रकोपले विश्वका अति विकसित राष्ट्रहरुले पनि जन-धनको क्षति ब्यहोर्नु पर्यो र परिरहेको छ भने अर्ध विकासोन्मुख राष्ट्रहरु त झनै कठिन घडीमा गुज्रनु परयो र परिरहेको छ । अमेरिका जस्तो राष्ट्र जसले संसारलाई आफ्नो मुठीमा लिन सक्छ, त्यति शक्तिशाली राष्ट्रले पनि आफ्नो नागरिकहरुको मृत्युदर घटाउन सकेन । अरु मुलुकले भन्दा ज्यादा गुमाउनु परयो । अमेरिका जस्तो मुलुकलाई के को लागि खांचो थियो र ? तर पनि यो महामारीले धनी र गरिव कसैलाई पनि छाडेन । सबैलाई समान रुपमा ज्यान लिने काम गरिरहेको छ ।

यो ‘प्यानडेमिक’ ले अति विकसित मुलकहरु जस्तै चीन, भारत, रसिया, इटाली, जर्मन र बेलायतलाई पनि छाडेन । यसको मतलव के हो भने सायद पृथ्वीमा रहेका प्रत्येक राष्ट्र यो महामारी कोभिड—१९ बाट अछुतो रहन सकेनन् । मैले बेलायतलाई आफ्नो कर्मथलो ठानेको छु किनभने मैले बेलायती सेनामा रहेर बेलायती राजमुकुट, सार्वभौमसत्ता र स्वाधिनता रक्षाका निम्ति १५ वर्ष सेवा गरेको छु । तसर्थ, बेलायत मेरो कर्मथलो हो भनेको हुं । यही नाताले गर्दा मैले आफ्नो कुरा कुनै हिच्किचाहट बिना राख्न पाएको छु । यो मेरो अधिकार पनि हो ।

त्यसैले आफ्नो सुरक्षित अधिकारलाई न्यायसंगत ढंगले सदुपयोग गर्दै बेलायतले गोरखा सैनिकहरुमाथि २०५ वर्ष सम्म गरेको विभेद, शोषणलाई अन्त्य गर्ने सवालमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) मा व्यक्तिगत र संस्थागत रुपमा गत २६ वर्षदेखि २०७२ सालसम्म दोस्रो नेतृत्वमा रहेर सम्पूर्ण भूतपूर्व सैनिक र तिनका परिवारहरुको हकहितको लागि लड्दै आएं र लडिरहेको छु । यसै क्रममा गेसोको आन्दोलनले अनगिन्ती उपलब्धिहरु प्राप्त भयो । विस २०७२ सालमा म गेसोको सभापतिमा निर्वाचित भइसकेपछि आन्दोलनको स्वरुप र प्रकृतिलाई परिवर्तन गर्दै यो आन्दोलनमा सबै भूपूजन्य संस्थाहरुलाई गोलबन्द बनाएर लैजानु नेतृत्वदायी संस्थाको नेतृत्व भएकाले मेरो कर्तब्य हो भनेर सबैलाई कार्यगत एकतामा ल्याउन सफल भएं ।

अहिले हामीहरु गेसो र सत्याग्रह कार्यगत एकतामा छौं । कार्यगत एकताको विकल्प थिएन र छैन् । यो एकता निरन्तर अघि बढ्नु पर्छ । सानातिना मतमतान्तरहरुलाई बसेर कुरागरी सल्ट्याउनु पर्छ । कार्यगत एकता (सहकार्य) मा आइसकेपछि हामीले गोर्खाहरुमाथि भएका विभेदहरुलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल र बहस गरयौं । यस विषयमा स्व. डा. चन्द्र लक्सम्बा, तत्कालीन् महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी र उहांको टिमको अहंम भूमिका रहेको कुरामा दुई मत छैन् ।

हामीहरुले पटकपटक बेलायतस्थित नेपाली राजदूतावासमा बैठक बसी छलफलहरु गरयौं । बैठकमा उठेका कुराहरु र त्यसको समाधानका बारेमा नेपाल र बेलायत सरकारलाई राजदूतज्यूद्वारा सुनाउन फिडब्याक दिंदै, रिपोर्टिङ् गर्दै, दुबै देशका सरकारलाई गोर्खाहरुको समस्याहरुबारे कुरा उठाउनु आवश्यक भएको कुरामा मञ्जुर गराइसकेपछि बेलायत र नेपाल सरकारको प्रतिनिधि साथै गोरखाहरुको समेत सहभागिता रहने गरि एक त्रिपक्षीय प्राविधिक समिति गठन गर्ने सहमतिमा पुग्यौं ।

तीनै पक्षको सहमति अनुसार प्राविधिक समिति गठन भएपछि घनीभूत रुपमा करिब १ वर्ष ३ महिनाको अवधिमा विषयवस्तुमाथि छलफल गरी अन्तमा एक १३ बुंदे प्रतिवेदन तय भयो । सो प्रतिवेदन त्रिपक्षीय सहमतिमा तयार भएको हुनाले त्रिपक्षीय प्राविधिक समितिले हस्ताक्षर गरि नेपाल र बेलायत सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गर्ने निर्णयानुसार २२ मार्च सन् २०१८ मा बेलायत सरकारका लागि उपनियोग प्रमुख शरदराज आरनले बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानक्यास्टरलाई प्रतिवेदन हस्तान्तरण गर्नु भयो भने नेपाल सरकारका लागि बेलायती प्राविधिक समितिका संयोजक डेमिन प्याटरसन्ले महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गर्नुभयो ।

हामी सहकार्यमा रहेका गेसो र सत्याग्रहले सामूहिक रुपमा त कहिले आआफ्नै किसिमले सम्बन्धित निकायसंग निरन्तर छलफल र वहसमा लागिरह्यौं । सरकारी निकायमा राख्नु पर्ने विषयहरु र भेट्नु पर्ने व्यक्तिहरु कसैलाई पनि हामीले छाडेनौं । फलस्वरुप, यो ऐतिहासिक १३ बुंदे प्रतिवेदनलाई सरकारको तर्फबाट पहलकदमी गर्नै पर्ने अवस्थामा पुरयायौं । यही ढंगले ठिक बाटोबाट सही ठाउंमा पुग्दै गर्दा गत वर्षबाट यमराजको रुपमा देखा परेको कोरोना भाइरस निरन्तर २०७७ सालभरि नै एउटा महामारीको रुपमा देखा परयो र परिरहेको छ ।

यो एक वर्षको अवधिमा गेसोले या कसैले पनि भेला भएर सभा, सम्मेलन, गोष्ठी गर्न सम्भव भएन किनकि ‘लक डाउन’का कारणले घरमा बस्नु बाहेक अरु कुनै उपाय थिएन । तर पनि आन्तरिक रुपमा गेसोले यस परिस्थितिमा २-३ जनाको समूहमा दुरी कायम गर्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्री र पार्टीका शीर्षस्थ नेताहरुलाई भेट्ने काम भयो भने स्वदेश तथा विदेशमा रहनु भएका विद्वान वुद्धिजिवी र भूपू सैनिकहरुबीच दुई पटक प्राविधिक समितिले तयार पारि दुवै देशको सरकारलाई बुझाएको प्रतिवेदनमा अन्तर्राष्ट्रिय भर्चुल वैठक गरर्यौं । अहिलेको प्राविधिक सुविधालाई प्रयोग गर्दै फोनमार्फत समितिका सदस्यहरुसित र बौद्विक ब्यक्ति र ब्यक्तित्वहरुसंग निरन्तर छलफल र कुराकानी गर्ने कार्य भइरह्यो ।

जति खुल्ला रुपमा काम गर्नु पर्ने हो, त्यो हुन सकेन । यो सत्य हो । व्यक्तिगत रुपमा म नेतृत्वमा भएकाले चिन्तित भएं किनभने भूपू सैनिक र तिनका परिवारहरुलाई गेसोले ३० सेप्टेम्वर २००८ को आवासीय भिसाको मुद्धा जितेपछि २० औं हजार भूपू सैनिकहरु र तिनका परिवारजन बेलायत पुगेका छन् । तर यो महामारीका कारण दिनदिनै मेरा अग्रज दाई, दिदी, बाबा र आमाहरु यो संसारबाट धेरैले बिदा लिएर गइसक्नु भएको छ । तर यो भयानक महामारीलाई रोक्ने ताकत कसैमा थिएन र छैन् ‘रिप’ लेख्नु बाहेक ।

मैले जति खबर पाउंथे बेलायतबाट, मलाई उति उति दुःख लाग्थ्यो । उहांहरुको जीवनकालमा १३ बुंदेलाई साक्षात लागू गराउन सकेनौं । यस कुराले मलाई मनमा पीडाबोध भएको छ, धोको बांकी छ । एकपल्ट मेरा भूपू सैनिक अग्रज दाजुभाई, दिदीबहिनी, बाबा-आमाहरुमा उहांहरुको मृतात्माले चीर शान्ति पाओस् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । मेरो ब्यक्तिगत तर्फबाट र गेसोको तर्फबाट । मृत्यु शास्वत सत्य हो । मैले बेलायत छाडेर आएको पनि १५-१६ महिना भइसकेछ । धेरै दिदीबहिनी, दाजुभाई, बाबा आमाहरुलाई मिस गरेको छु । अब, उहांहरुलाई मैले कहिल्यै भेट्न सक्दिन । केवल सम्झना मात्र रहयो । जे होस् यहांहरुको सोचमा रहेका गर्नु पर्ने बांकी कामहरुलाई पूर्णता दिन मेरो नेतृत्व, गेसो सधैं लागिरहने छ ।

समग्रमा, यो एक वर्ष अथवा २०७७ साल गेसोका लागि मात्र होइन्, गोरखा आन्दोलनका लागि प्रतिकुल रह्यो । यो कसैको पहुंचभित्र थिएन । निर्धारित धेरै योजना र कार्यक्रमहरु गेसोले गर्नु पर्नेथ्यो तर यो कोभिड—१९ प्रकोपले समय अनुकुल भएन । यति हुंदाहुंदै पनि हामीहरु सरकारको सम्बन्धित निकायहरुसंग निरन्तर सम्पर्क र कुराकानीमा छौं । मलाई विश्वास छ, २०७७ साल दुःखद रहे पनि बिदा दिंदै २०७८ साल गेसो र गोरखा आन्दोलनका लागि सुखद रहनेछ, रहोस् भन्ने कामना पनि गर्दछु ।

गोरखा समुदायहरुको लागि गर्नुपर्ने बांकी रहेका कामहरु नयां वर्ष २०७८ सालमा गेसोले पुरा गर्ने प्रतिवद्धता जाहेर गर्दै सम्पूर्ण देशविदेशमा रहनु भएका भूपू सैनिक दाजुभाई, दिदीबहिनी, बाबाआमा तथा नेपाली दाजुभाई, दिदीबहिनीहरुमा नयां वर्ष २०७८ सालको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु र सफलताको आग्रिम हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । जय गेसो, जय गोरखा

(लेखक राई गेसो सभापति हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू