सोमबार, पुष २९, २०८१
23:36 | ०५:२१

बेलायतमा कोरोना मृतक ७ महिनायताकै कम  

खोपको दोस्रो डोज वितरणमा नयाँ रेकर्ड

नेपाली लिङ्क अप्रिल ११, २०२१


लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या विगत सात महिना यताकै कम भएको छ । इंग्ल्यान्डमा जारी लकडाउन थप सहज हुन केही घण्टामात्र बाँकी रहंदा मृतक संख्यामा कमी आएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको मात्र मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या गत वर्ष सेप्टेम्बर १३ पछिकै सबैभन्दा कम हो । सेप्टेम्बर १३ मा ५ जनाको मृत्यु भएको थियो ।

योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८७ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा १ हजार सात सय ३० जना कोरोना संक्रमित थपिएका छन् । एक हप्तामा १८ हजार ४३० जना संक्रमित थपिएका छन् ।

यससंगै संक्रमितको कुल संख्या ४३ लाख ६९ हजार ७७५ पुगेको छ ।

खोपको दोस्रो डोज वितरणमा नयाँ रेकर्ड

बेलायतमा कोरोना विरुद्धको खोपको दोस्रो डोज वितरणमा नयाँ कीर्तिमान कायम भएको छ । शनिबार ४ लाख ७५ हजार २३० जनाले खोपको दोस्रो डोज लगाएका छन् ।

अघिल्लो दिन शुक्रबार पनि एकैदिनमा ४ लाख ५० हजार भन्दा बढीले दोस्रो डोज लगाएका थिए । बेलायतमा कोरोना विरुद्धको खोप वितरण शुरु भएयता हालसम्म तीन करोड ९५ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ९५ लाख ८७ हजार ८९३ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड २१ लाख २१ हजार ३५३ जनाले खोपको पहिलो र ७४ लाख ६६ हजार ५४० जनाले दोस्रो डोज समेत लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना विरुद्ध फाइजर-बायोएनटेक, अक्सफोर्ड-एस्ट्राजेनेका र मोडर्ना खोप प्रयोगमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू