जीवन विज्ञान यूके अप्रिल १७ देखि स्वसंवाद गर्ने तयारीमा
लन्डन –योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञान यूकेले नेपाली नयाँ वर्षमा पाँचौं स्वसंवाद विज्ञान कार्यक्रम गर्ने भएको छ ।
आफैंभित्रको ‘म’ संग संवाद गर्ने विज्ञान, स्वसंवाद, जीवन विज्ञानका केन्द्रिय प्रशिक्षक गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले सञ्चालन गर्नेछन् ।
जूममार्फत सञ्चालन गरिने उक्त कार्यक्रम यही अप्रिल १७ तारिख शनिबारदेखि अप्रिल २५ तारिख, आइतबारसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
‘यो नौ दिनका लागि निर्धारित कार्यक्रम भएकाले सहभागीहरुले सबै दिन प्रवचन कक्षामा प्रयोग र अभ्यास साधना समेत गर्नुपर्ने छ’, जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले भनिन् । उनले यूके साथै संसारभरिबाट सहभागीहरुले भाग लिन पाउने तर रजिष्ट्रेशन गर्न भने अनिवार्य रहेको बताइन् ।
‘श्रद्धेय गुरुहरु अत्यन्तै व्यस्त हुनुहुन्छ । तर युरोपका कतिपय मुलुकहरु अझै कोरोनाका कारण लकडाउनमै रहेको र यसबाट उत्पन्न तनाव तथा निराशालाई जीवनमा उत्साह, प्रेम र उर्जाको सञ्चार गर्न सघाउन उहाँहरुले हामीलाई समय दिनु भएको हो । चांडो भन्दा चांडो सपरिवार दर्ता भएर लाभान्वित हुन हामी सबै मित्रहरुलाई आग्रह गर्दछौं’, उनले भनिन् ।
स्वसंवाद विज्ञान कार्यक्रममा भाग लिन शनिबार १६ अप्रिल, यूके समय ५ बजेभित्र आफ्नो नाम दर्ता गर्नु पर्नेछ । नाम दर्ताका लागि यहां क्लिक गर्नुहोला