सोमबार, पुष २९, २०८१
22:09 | ०३:५४

बेलायतमा कोरोनाबाट १ लाख २७ हजार बढीको मृत्यु  

२४ घन्टामा ३ हजार १५० संक्रमित

नेपाली लिङ्क अप्रिल ९, २०२१

लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको छ भने संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि निरन्तर घट्दै  गएको छ ।

महामारी शुरु भएयता बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार नाघेको छ ।

बितेको २४ घन्टामा थप ६० जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतक संख्या एक लाख २७ हजार ४० पुगेको हो । पछिल्लो एकसातामा मृतक संख्यामा २५.८ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा थप तीन हजार १५० जना संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ६५ हजार ४६१ पुगेको छ ।

गएको केहि दिनयता संक्रमित संख्या तीन हजारको हाराहारीमा छ । संक्रमित संख्यामा पनि गत साताको तुलनामा ३२.२ प्रतिशतले ह्रास आएको छ ।

बेलायतमा तीनवटा कम्पनीको खोप वितरण

बेलायतमा कोरोना विरुद्धको तीन छुट्टाछुट्टै कम्पनीको खोप वितरण गरिएको छ । यसअघि फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेका खोप वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी ‘मोडर्ना’ खोपको पनि वितरण शुरु गरिएको छ ।

फाइजर र एस्ट्राजेनेका जस्तै मोडर्ना खोप पनि हरेक मानिसलाई दुई डोज दिनुपर्नेछ भने यस खोपको प्रभावकारिता ९४ प्रतिशतभन्दा बढी रहने बताइएको छ ।

कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता बेलायतमा तीन करोड ८४ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ८४ लाख ४४ हजार ५४० डोज खोप वितरण भइसकेको छ ।

तीन करोड १९ लाख ३ हजार ३६६ जनाले खोपको पहिलो र ६५ लाख ४१ हजार १७४ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू