भारतमा संक्रमण फैलिने क्रम तीव्र
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या दिन प्रतिदिन तीव्र रुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।
दिनप्रतिदिन दैनिक संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हुँदै गएको छ । यो संख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार ९६८ पुगेको हो ।भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ३० लाख ६० हजार ५४२ पुगेको अधिकारीहरुको भनाइ छ ।
यही हप्ता दैनिक संक्रमितको संख्या एक लाखभन्दा बढी पुगेको शुक्रबार चौथो पटक हो । यसअघि गत सोमबार एक लाख तीन हजार ५५८ जना संक्रमित भएका थिए भने बुधबार एक लाख १५ हजार ७३६ जना संक्रमित थपिएका थिए ।
त्यसैगरी बिहीबार एक लाख २६ हजार ७८९ जना कोरोनाभाइरसबाट संक्रमित भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको थियो । भारतमा पछिल्लो २४ घण्टामा ७८० जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या एक लाख ६७ हजार ६४२ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिलेपनि नौ लाख ७९ हजार ६०८ जना संक्रमित अवस्थामै छन् । त्यसैगरी कुल एक करोड १९ लाख १३ हजार २९२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५