मोदीले लिए कोभिड खोपको दोस्रो डोज
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका छन् ।
‘मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु’, सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् । यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सवैलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए । भारतले कोरोनाभाइरसविरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरुलाई पनि उपलब्ध गराएको छ ।
कोरोनाविरुद्धको खोप उत्पादन र वितरणमा भारतका नेतृत्वदायी र उल्लेखनीय भूमिका खेलेको छ । तैपनि भारतमा कोरोनाभाइरसबाट नयाँ संक्रमितहरुको संख्यामा दिन प्रतिदिन वृद्धि हुदै गएको छ ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।
पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनाभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५