नेपाल स्कटल्याण्ड एशोसिएसनको नयाँ कार्यसमितिमा महिलाको बहुमत
लन्डन । बेलायतस्थित सयौँ नेपाली संघसंस्थामध्ये अपवाद बाहेक सबैमा पुरुषहरुकै नेतृत्व छ । संस्थाको अध्यक्ष मात्र होइन, कार्यसमितिका बहुमत पदाधिकारी पनि पुरुष नै रहन्छन् । कतिपय संघसंस्थामा त महिलाको सहभागिता निकै झिनो वा शून्यप्राय देखिन्छ ।
तर स्कटल्यान्डस्थित एक संस्थाले भने नयाँ ‘ट्रेन्ड’ स्थापित गरेको छ । नेपाल स्कटल्याण्ड एशोसिएसनको नवनिर्वाचित कार्यसमितिमा पुरुषभन्दा महिलाकै संख्या बढी पुगेको छ । ७ सदस्यीय कार्यसमितिमा ४ महिला चयन भएका छन् ।
कार्यसमितिको उपाध्यक्ष र कोषाध्यक्षसहित दुई बोर्ड सदस्य महिला चुनिएका छन् भने अध्यक्ष, महासचिव र बांकी एक बोर्ड सदस्य पुरुष छन् । उपाध्यक्ष कमला श्रेष्ठ, कोषाध्यक्ष अन्जली चापागाई तथा बोर्ड सदस्य रिता कार्की र रत्न केसी चयन भएका हुन् । अध्यक्ष विजय डंगोल, महासचिव मनिष खत्री र बोर्ड सदस्य भूपाल कार्की चुनिएका छन् ।
आइतबार सम्पन्न संस्थाको १७ औं अधिवेशनले सर्वसम्मतिमै नयाँ समिति गठन गरेको हो । समितिमा अध्यक्ष र महासचिव निवर्तमान कार्यसमितिबाटै निरन्तर भएका छन् भने उपाध्यक्ष र कोषाध्यक्षले पनि पछिल्लो एक वर्ष कार्यवाहकको रुपमा जिम्मेवारी सम्हालेका थिए । बाँकी पदमा नयाँ अनुहारहरु छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।
‘महिलाहरु आफै जागरुक बनेर आउनुभएको छ । हाम्रो तर्फबाट हौसला त छदैंछ, उहाँहरु आफैमा पर्याप्त क्षमता, अनुभव र आत्मबल पनि छ’, नवनिर्वाचित अध्यक्ष विजय डंगोलले भने, ‘महिलाहरुको उत्साहजनक सहभागिताले हाम्रो संस्थामा नयाँ उर्जा थपिएको महसुश भएको छ ।’
महिला भएकै कारण कसैले पनि आफ्नो क्षमताअनुसारको अवसरबाट वञ्चित हुनुहुंदैन भन्ने आफूहरुको मान्यता रहेको अध्यक्ष डंगोलले बताए । उनले भने, ‘हाम्रो टीममा आउने महिलाहरु सबैजना आ-आफ्नो पेशा, व्यवसायमा सफल र स्थापित, समाजिक कार्यमा सक्रिय र अनुभवी हुनुहुन्छ । उहाँहरुको योगदानबाट संस्थाले नयाँ उचाई लिने आशा छ ।’
दोस्रो कार्यकालका लागि संस्थाको नेतृत्व लिएका डंगोलले संस्थालाई आर्थिक रुपमा सबल बनाउने, संस्थाअन्तर्गत विभिन्न उपसमितिहरु बिस्तार गर्दै जाने, संस्थालाई बाहिरी मञ्चहरुमा स्थापित गर्ने लगायतका योजना बनाएका छन् ।
स्कटल्याण्डभरका नेपालीको प्रतिनिधत्व गर्ने लक्ष्यसहित सन् २००४ मा नेपाल स्कटल्याण्ड एशोसिएसन स्थापना भएको हो । पछिल्ला समयमा भने एशोसिएसन स्कटल्याण्डको एडिनबरा क्षेत्रमा केन्द्रित हुंदै आएको छ ।