मंगलबार, मंसिर ११, २०८१
10:23 | १६:०८

कैलालीमा प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

रासस अप्रिल ६, २०२१

फाइल तस्विर

कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए ।

‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो’, प्रहरी निरीक्षक थापाले भने, ‘बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपरयो ।’

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएका छन् । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू