आइतबार, पुष २८, २०८१
14:04 | १९:४९

पोखरेली मञ्च यूकेमा मानप्रसाद नेतृत्वकै कार्यसमितिको कार्यकाल एक वर्ष थप

नेपाली लिङ्क मार्च २९, २०२१

लन्डन । बेलायतमा बस्ने पोखरेलीहरुको साझा संस्था पोखरेली मञ्च यूकेमा मानप्रसाद गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गरिएको छ ।  

आइतबार सम्पन्न मञ्चको विशेष बैठकले कोभिड महामारीका उत्पन्न असहज परिस्थिति र वर्तमान कार्यसमितिको कार्य मुल्यांकन गर्दै कार्यावधि थप्ने निर्णय गरेको हो ।  

बैठकमा अध्यक्ष गुरुङले आफ्नो कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए । उनले १३ औं, १४औँ र १५ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि पोखरेली मञ्च यूकेको पहलमा बेलायतबाट २३ लाख ३३ हजार रुपैयाँ संकलन गरी पठाएको जानकारी गराए । त्यस्तै, प्रसिद्ध पोखरेली साहित्यकार सरु भक्त श्रेष्ठको उपस्थितिमा साहित्यिक कार्यक्रम ‘सृजनाको घेरा भित्र’ आयोजना गरी २ लाख ५० हजार संकलन गरी पोखरेली युवा सांस्कृतिक परिवार मताहतमा रहेको ‘वरिष्ठ संगीतकार अम्बर गुरुङ स्मृति कोष’ प्रदान गरिएको उनले जनाए । 

अध्यक्ष गुरुङले आफ्नै कार्यकालमा पोखरेली मञ्च यूकेलाई बेलायतको च्यारिटी कमिसनमा दर्ता गर्न सफल भएको पनि बताए । पोखरेली मञ्च यूकेकै पहलमा बेलायतमा तीन पटकसम्म ‘हाईक फर नेपाल’ कार्यक्रम आयोजना गरिएको, नेपाल कप टी २० क्रिकेट लगातर चार वर्षसम्म आयोजना गरिएको र परिस्थिति अनुकुल भए यही वर्ष नेपाल कप टी २० क्रिकेट पाँचौ पटक आयोजना गरिने उनले जानकारी दिए । अध्यक्ष गुरुङले पोखरा म्याराथन र धरान रनलाई एक हप्ताको फरकमा आयोजना गर्न धरान रन सँग वार्ता गरिएको पनि बताए ।

कार्यक्रममा पोखरेली मञ्च यूकेले आयोजना गर्ने हाइक फर नेपाल कार्यक्रमका संयोजक एवम् तमु प्ये ल्हु संघ यूकेका निवर्तमान अध्यक्ष मेजर रिटायर्ड खुशीमान गुरुङ र आर्थिक संयोजक श्रीमती जसु गुरुङले हाइक फर नेपाल कार्यक्रमहरुको समीक्षा गर्दै आगामी कार्यक्रमको लागि तय गर्नुपर्ने रणनीतिहरुबारे बताए । 

त्यसअवसरमा आगामी नेपाल कप क्रिकेटबारे प्रकाश गुरुङले जानकारी दिए भने मञ्चको विधान संशोधनसम्बन्धमा लेखक तथा गीतकार एकेन्द्र गुरुङले खासै संशोधन गर्नुपर्ने केही विशेष नरहेको जानकारी गराउँदै केही आवश्यक परेमा सल्लाह अनि सहमतिमा संशोधन गर्न सकिने बताए ।

कार्यक्रममा लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङ, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङ लगायतले पोखरेली मञ्च यूकेका कामहरुको प्रशंसा गर्नुहुँदै थप सफलताको शुभकामाना व्यक्त गरेका थिए । त्यस्तै मञ्चका सल्लाहकार एवम् भूपू प्रधानाध्यापक महेश गुरुङले कार्यसमितिसहित सबै पोखरेली मिलेर संस्थाको महत्व र गरिमा बढाउने गरी अघि बढ्न आग्रह गरे 

कार्यक्रममा अधिकांश सहभागीहरुले पोखरेली मञ्च यूकेलाई अझ विस्तार गर्दै सम्पूर्ण पोखरेलीहरुको माझ पुरयाउनुपर्ने र संस्थालाई पोखराकै साझा संस्था बनाउनुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा मञ्चका संस्थापक अध्यक्ष चन्द्र ब. पुन, वर्तमान उपाध्यक्ष अम्बिका खड्का, उपाध्यक्ष बाचस्पति रेग्मी, साहारा यूके अध्यक्ष कुमार गुरुङ, पोखरा रामबजार हङकङ मञ्च पूर्व सचिव प्रेम विक, बुद्धिजिबी रमेश बास्तोला, सेरा गुरुङ, राम गुरुङ, मे (रि) रुद्रबहादुर खडका, लेफ्टिनेन्ट कुसाङ गुरुङ, हरि श्रेष्ठ, सोलिसिटर बालकृष्ण गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा एनआरएनए यूके निवर्तमान अध्यक्ष योगकुमार फगामी, हङकङ नेपाली मञ्च यूकेका निवर्तमान अध्यक्ष भिममहेन्द्र गुरुङ लगायतको उपस्थिति थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष मानप्रसाद गुरुङले पोखरेली मञ्च यूकेलाई प्रत्यक्ष र परोक्ष साथ र सहयोग गर्नेमध्येका सबैलाई धन्यवाद ज्ञापन गरे । साथै, बैठकमा सहभागी सम्पूर्ण सदस्यहरुलाई धन्यबाद दिंदै उनले युवा पुस्तालाई नेपाल र नेपाली भएर गर्व गर्न सक्ने वातावरण निर्माणका लागि मञ्चले बेलायत र पोखरालाई जोड्ने पुलको रूपमा काम गर्ने लक्ष्य सुनाए ।  

कार्यक्रम संचालन मञ्चका सचिव पवित्र गुरुङले गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू