आइतबार, पुष २८, २०८१
10:55 | १६:४०

बेलायतको खोप अभियानमा नयां कीर्तिमान, एकैदिन ७ लाख बढीले लगाए

हालसम्म २ करोड ८९ लाख बढी खोप वितरण

नेपाली लिङ्क मार्च २०, २०२१

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयताकै नयां कीर्तिमान कायम भएको छ । शुक्रबार एकै दिनमा ७ लाख ११ हजार १५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यत्तिका संख्यामा एकैदिन खोप वितरण गरिएको यो नै पहिला भएको बताइएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि शुक्रबार नै अक्सफोर्डको खोप लगाएका हुन्  ।

बेलायतमा गतवर्ष डिसेम्बर ८ बाट कोरोना विरुद्धको खोप वितरण कार्य संचालन गरिएको हो । हालसम्म दुई करोड ८९ लाख बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ ।

बेलायतको कुल जनसंख्यामध्ये आधा वयस्कहरुलाई कोरोना विरुद्ध खोपको पहिलो डोज दिइसकिएको सरकारले जानकारी दिएको छ ।

शनिबारको तथ्याँक अनुसार खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ८९ लाख ८५ हजार ९५८ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ६८ लाख ५३ हजार ४०७ जनाले पहिलो र २१ लाख ३२  हजार ५५१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

यूके तथा युरोपेली नियामक निकायले बिहीबार अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेसंगै खोपमाथिको आशंका हटेको हो ।

अक्सफोर्ड एस्ट्राजेनिका खोपको ‘साइड इफेक्ट’ का कारण ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने रोग सम्बन्धि कुनै आधार नभेटिएको तथ्य सार्वजनिक भएसंगै यस खोपले पु:न निरन्तरता पाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू