इंग्ल्याण्डमा ५० वर्ष पुगेकालाई खोप दिन शुरु
मार्च अन्त्यदेखि ४० वर्ष माथिलाई पनि खोप दिइने
लन्डन । बेलायतमा कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएसंगै इंग्ल्याण्डका ५० वर्ष र सो भन्दा माथि उमेर पुगेकालाई पनि खोप दिन शुरु गरिने भएको छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को वेबसाइटमार्फत ५० वर्ष माथिका उमेर भएकाले पनि खोपको लागि आवेदन दिन सक्ने भएका छन् ।
नर्दर्न आएरल्याण्ड र स्कटल्याण्डका केहि भूभागमा यसअघि नै ५० वर्ष उमेरकालाई खोप दिइसकेको छ । इंग्ल्याण्डमा पनि सो उमेरका केहिले खोप लगाइसकेका छन् ।
इंग्ल्याण्डका ५०-५४ वर्ष उमेरका करिब बीस लाख मानिसलाई कोरोना विरुद्धको खोपको लागि नाम दर्ता गर्न मोबाइलमार्फत सन्देश प्रवाह गरिसकिएको छ ।
यदि अनलाइन बुक गर्न सम्भव नभएमा ११९ मा फोन गरेर पनि बुक गर्न सकिनेछ । बेलायतमा हाल करिब २५ मिलियन नागरिकलाई खोपको पहिलो डोज दिइसकिएको छ । यसैगरी १.७ मिलियन भन्दा बढीले खोपको दोस्रो डोज पनि लिइसकेका छन् ।
यसै महिनाको अन्तसम्ममा ४० वर्ष माथि उमेर भएकालाई पनि खोप दिने तयारी भैरहेको छ । आउँदो जुलाई अन्तसम्ममा बेलायतका सम्पूर्ण वयस्कहरुलाई खोप वितरण गरिसक्ने सरकारले लक्ष्य लिएको छ ।
अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोपमाथि गरिएको आशंकामा भने बेलायतमा हालसम्म त्यस्तो कुनै तथ्य फेला नपरेको बेलायतले बताएको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले पनि अक्सफोर्डको खोप सुरक्षित रहेको बताएका छन् ।
बेलायतमा दुईजनामध्ये एकजनालाई अक्सफोर्डको खोप दिइएको र यो खोप सुरक्षित रहेको बताइएको छ । अक्सफोर्ड खोपलाई हाल १३ वटा मुलुकले वितरणमा रोक लगाएका छन् ।
यद्यपि यो खोपलाई विश्व स्वास्थ्य संगठनले समेत सुरक्षित रहेको बताउंदै आएको छ ।
५० वर्ष उमेर पुगेकाहरुले खोपको लागि यहाँ क्लिक गरेर अनलाइन नाम दर्ता गर्न अथवा ११९ मा फोन गरेर पनि नाम दर्ता गर्न सकिनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५