माओवादी संसदीय दलको नेतामा प्रचण्ड



फाइल तस्विर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको आजको बैठकले नेता देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी छ ।
पुनका अनुसार राष्ट्रियसभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरिएको छ ।
बैठकले प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई गरी छ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । हाल नेकपा (एमाले) मा रहेका उनीहरूसहितका २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकलेसमेत स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरी माओवादी केन्द्र र नेकपा (एमाले) पार्टी नै कायम रहेको फैसला सुनाएपछि दुवै दल पदाधिकारी चयनमा लागेका छन् ।
बैठकले गत फागुन २३ गते सर्वोच्चले गरेको फैसला बेठिक रहे पनि कार्यान्वयन गर्ने निर्णय पनि गरेको नेता पुनले जानकारी दिए । त्यसपछि माओवादी केन्द्रको संसदीय दलको यो पहिलो बैठक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक कदम चालेको अदालतले फैसला गरिसकेकाले नैतिकरुपमा राजीनामा दिनुपर्ने दलको निष्कर्ष रहेकोसमेत उनले जानकारी दिए ।
बैठकको शुरुआतमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयमा संक्षिप्त जानकारी गराएका थिए । बैठकमा उनले जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना रहेको जानकारी गराएको नेता पुनले बताए ।
बैठकले दलको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि कार्यदलसमेत बनाएको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५