मैले फेरि विद्रोहको कुरा गरेको हैन: प्रचन्ड



फाइल तस्विर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् ।
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य रहेकामा जोड दिए ।
पछिल्लो समय देशमा परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भएको जनाउँदै उनले यसका विरुद्ध सङ्घर्ष गरिने बताए । ‘मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ’- उनले भने ।
नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइने जनाउँदै अध्यक्ष दाहालले सबैलाई एकजुट हुन आह्वान गरे ।
अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गरे ।
‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन’, उनले भने, ‘त्यसैले अब पुनः प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५