बुधबार, माघ ९, २०८१
00:37 | ०६:२२

अमेरिकी र चिनियाँ कूटनीतिज्ञहरुबीच अर्को साता भेटवार्ता तय

रासस–एपी मार्च ११, २०२१


वासिङ्टन, २७ फागुन ––वरिष्ट अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ । अझ पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा दुबै मुलुकबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो ।

ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभान र चीनका वरिष्ट कूटनीतिक पदाधिकारीहरु स्टेट काउन्सिलर वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख याङ जेचीबीच अलास्काको एन्कोरेजमा यही मार्च १८ मा भेटघाट गर्ने जनाएका छन् ।

कङ्ग्रेसको बैठकमा बुधबार पहिलो पटक उपस्थित विदेश मन्त्री ब्लिन्केनले सांसदहरुलाई तिब्बत, हङकङ र पश्चिम सिनजियाङ क्षेत्रको मानव अधिकार तथा व्यापारका साथै कोरोनाभाइरस महामारीका विषयमा दुई देशबीच देखिएका असमझदारीलाई लिएर छलफल गर्ने यो राम्रो अवसर हुने बताए । साथै उत्तर कोरिया र यसको आणविक हतियार कार्यक्रमका बारेमा पनि छलफल हुन सक्ने बताइएको छ ।

सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै विदेश मन्त्री ब्लिन्केनले इरान, क्युबा, इथियोपिया, रसिया र भेनेजुएला मामिलामा बाइडेन प्रशासनको दृष्टिकोणका बारेमा पनि जानकारी गराएका थिए । उनले यी जल्दाबल्दा अन्तर्राष्ट्रिय तथा अमेरिकी चासोका विषयमा कङ्ग्रेससँग निकट सम्बन्ध र सम्पर्क गर्न बाइडेन प्रशासन सधैं तत्पर रहने बताए ।

अलास्कामा चिनियाँ अधिकारीहरुसँगको भेटवार्ता अघि विदेश मन्त्री ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले जापानी र दक्षिण कोरियाली समकक्षीहरुसँग टोकियो र सियोलमा भेटवार्ता गर्नेछन् । यी भेटवार्तामा अमेरिका र जापान–दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन अमेरिकाले पहल गर्नेछ ।

राष्ट्रपति जो बाइडेनले यही साता भारत, जापान र अस्ट्रेलियाका प्रधानमन्त्रीहरुसँग हिन्द–प्रशान्त नीतिका बारेमा पनि भर्चुअल छलफल गर्दै छन् । कङ्ग्रेसको विदेश मामिला समितिमा विदेश मन्त्री ब्लिन्केनले भने, ‘कुरा एकदमै सरल छ । यो अवसरमा हामी हाम्रा चासोका विषयलाई खुला रुपमा उनीहरु समक्ष राख्नेछौं ।’

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले यसअघि नै चिनियाँ अधिकारीहरुसँग अमेरिकाको गहिरो असहमतिसहित विविध विषयमा छलफल हुने बताइसकेकी छन् ।

अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प रहँदा अमेरिका र चीनबीचको सम्बन्ध निकै नाजूक स्थितिमा पुगेको थियो । ट्रम्प प्रशासनले चीनमाथि उइगुर मुस्लिम, सिनजियाङका अल्पसंख्यक र तिब्बत मामिलामा बहुआयामिक कारबाहीहरु गरेको थियो भने हङकङ, ताइवान र दक्षिण चीन सागरमाथि चीनको हस्तक्षेपलाई लिएर चीनमाथि दबाब दिएको थियो ।

तर, जो बाइडेनले ह्वाइट हाउसको प्रशासन सम्हालेयता पनि चीनमाथिका कारबाहीहरु फुकुवा भइसकेका छैनन् । अर्थात् ट्रम्पका अधिकांश नीतिहरुलाई बाइडेन प्रशासनले पनि निरन्तरता दिने सङ्केत देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू