बेलायतबाट वार्षिक लाख पर्यटक पठाउन असम्भव छैन्: महन्त श्रेष्ठ, पर्यटन दूत


लन्डन । न पदको लोभलालच, न सम्मान र प्रचारको भोको । न कसैको खुट्टा तानेर आफू अगाडि लम्कने चिन्ता । बरु सकेको च्यारिटी गरेर बेलायतको नेपाली समुदायमा पृथक पहिचान बनाएका अग्रज महन्तबहादुर श्रेष्ठमाथि भर्खर एउटा नयां जिम्मेवारी थपिएको छ । उनलाई नेपाल पर्यटन बोर्डले फेब्रुअरी अन्तिम साता बेलायतका लागि मानार्थ प्रतिनिधि (पर्यटन दूत) नियुक्त गरेको छ ।
पर्यटन दूत बेलायतमा यस्तो पद हो जसका लागि कयौं पात्रहरु तंछाडमछांड गर्छन् । तत्कालिन राजदूत डा. दुर्गाबहादुर सुवेदीले त किचलोपछि कसैलाई पनि नदिइ उक्त पद आफैंले ‘होल्ड’ गरिदिएका थिए । तर, महन्त यस्ता भाग्यमानी हुन् जसलाई नियुक्तिबारे हेक्का पनि थिएन् ।
सन् १९७६ मार्च १० मा लन्डन आएका श्रेष्ठ इलिङस्थित पुरानो रेष्टुरेन्ट मन्टिज रेष्टुरेन्टका सञ्चालक हुन् । श्रेष्ठको रेष्टुरेन्ट व्यवसायसंगै लन्डनमा बियर उत्पादन र प्रोपर्टीमा पनि लगानी छ । सन् २००३ देखि साझेदारीमा खुकुरी बियर उत्पादन गरेर सन् २००७ देखि एकल लगानीमा उक्त व्यवसाय सञ्चालन गरिरहेका श्रेष्ठको दुईवर्षदेखि काठमाडौं ठमेलमा एम नाममा तारे होटल पनि चालु छ ।
हालै गठित यूके नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष श्रेष्ठ एनआरएनए यूकेको संस्थापक अध्यक्ष, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी सल्लाहकार र आवद्ध भएका संस्था दर्जनौं छन् ।
आगामी दुई वर्षका लागि नेपाल पर्यटन बोर्डको अनरेरी पब्लिक रिलेसन्स् रिप्रेजेन्टेटिभ (एचपीआरआर) को जिम्मेवारी पाएका श्रेष्ठसंग नेपाली लिंकले गरेको कुराकानी प्रस्तुत छः
-तपाईंले भर्खर पर्यटन बोर्डको नयां जिम्मेवारी पाउनु भएको छ । यो अभिभारालाई कसरी लिनुभएको छ ?
मैले आफूलाई एकदम गौरव महशुस गरेको छु । मैले नेपाल र नेपाली समुदायलाई यो पद नहुंदा पनि धेरै गरें जस्तो लाग्छ । अब त झन् बोर्डले विश्वास गरेर थप जिम्मेवारी दिंदा काम गर्न उत्साहित छु । तन, मन धन दिएर काम गर्छु ।
म यही अवसरमा बोर्ड र विशेष गरि सिइयो डा. धनन्जय रेग्मीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
-तपाईंसंग कस्ता योजनाहरु छन् सुनाइदिनुस् न ?
मेरो प्रमुख काम भनेको देशको पर्यटन प्रवर्धन हो । त्यसका लागि लन्डनस्थित नेपाली दूतावाससंग समन्वय, संघसंस्था र मिडियाको साथ लिएर अगाडि बढ्नेछु । दूतावास र बाहिर हेल्प डेस्क स्थापना गर्ने छु ।
मैले विभिन्न क्षेत्रका मानिसहरु संलग्न हुने गरी एउटा स्पेशल टास्क फोर्स र स्टेरिङ कमिटी गठनको सोच बनाएको छु ।
अहिले बेलायतमा कोभिड महामारी अझै बांकी रहेकाले लकडाउन खुलेपछि पर्यटन प्रवर्धन गतिविधिलाई तीव्रता दिनेछु । नेपाल चिनाउने गतिविधि जस्तै प्रत्यक्ष सेमिनार, प्रिजेन्टेसन, प्रचार प्रसार सामग्री वितरण, विज्ञापन आदि गर्ने सोच छ । ब्रिटिश नागरिकहरु नेपाली समुदायलाई औधि माया गर्छन् । उनीहरुमाझ जतिसक्दो प्रचार प्रसार आवश्यक छ ।
म ‘सेन्ड होम अ फ्रेण्ड’ अभियानलाई निरन्तरता दिन्छु । ‘गाइड योर सेल्फ टु नेपाल’ नामक जानकारीमूलक एउटा हयाण्डी बुकलेट बनाएर नेपाल जाने सबैलाई वितरण गर्ने योजना बनाएको छु । पर्यटन प्रवर्धनसंगै बेलायतीलाई नेपालमा लगानीप्रति आकर्षित गराउन पनि मेरो पहल हुनेछ ।
इलिङ मन्टिजकै माथि एउटा बेग्लै कार्यालय ‘सेट अप’ भइसकेको छ, म फूलटाइम लाग्छु । नेपाल पर्यटन बोर्डले नेपालमा पर्यटकको डेटाबेस बनाउंदै छ । त्यसमा पनि म सहयोग गर्छु ।
कोभिड १९ महामारीसंगै तपाईंलाई पर्यटन प्रवर्धन अभिभारा चुनौतिपूर्ण भए जस्तो लाग्दैन ?
हामीले ‘अंध्यारो टनेल पार गरेर अब उज्यालो प्रकाश’ देखिसकेका छौं । बेलायतीहरुमा कोभिड खोप लगाएपछि आत्मविश्वास बढेको पाएको छु । मेरै कति बेलायती साथीहरु नेपाल जान हतार भइसक्यो भन्न थालेका छन् । हामीले पनि अब नेपालमा कोभिड खोप शुरु भइसकेकाले घुम्न सुरक्षित छ, नेपाल खुलिसक्यो भन्ने सन्देश दिन एकदमै जरुरी छ, म त्यसमा लाग्छु ।
यसको मतलव, कोभिडले थलिएको नेपाली पर्यटन उकास्न सकिन्छ भन्ने आत्मविश्वास छ तपाईंमा ?
नेपाल साउथ एसियाको स्वीटजरल्याण्ड मानिन्छ । ‘टुरिष्ट प्याराडाइज’ भन्दा हुन्छ । हामीले राम्रो वातावरण बनाइदिने हो भने त टुरिष्ट ओइरिन्छन् । कोभिड अन्त्यपछि वार्षिक एकलाख पर्यटक नेपाल पठाउन असम्भव छ जस्तो लाग्दैन् । तर, काठमाडौंमा महानगरपालिकाले पनि सिटी बस व्यवस्था, सार्वजनिक शौचालय व्यवस्थापन, सोभिनियर, कफी सप, हेल्प डेस्क जस्ता कुरा व्यवस्थित गराउनुपर्छ । पर्यटकको सुरक्षा पनि प्रमुख सरोकारको विषय हो ।
नेपालमा १२ महिना नै घुम्ने सिजन छ भनेर प्रचार प्रसार गर्न आवश्यक छ । हिमाल आरोहण, ट्रेकिङ त छंदैछ, कल्चरल हेरिटेज साइटबारे प्रचार प्रसार, धार्मिक पर्यटन प्रवर्धन, आर्किटेक्ट प्रमोसन, ट्रेल प्याकेज, खानाको प्रचार प्रचार गर्न सके पर्यटनमा प्रचुर सम्भावना छ ।
विश्वप्रसिद्ध पर्यटकीय ट्राभल गाइड साइट लोन्ली प्लानेटको घुम्न लायक टप टेनभित्र नेपाल छ ।
यी सबैकुरा म एक्लैले गरेर सम्भव नहुन सक्छ । म बेलायती नेपाली डायष्पोरालाई सहयोग गर्न पनि अपिल गर्छु । यसमा रेष्टुरेन्ट व्यवसायीहरुको पनि प्रमुख भूमिका छ । रेष्टुरेन्ट व्यवसायी साथीहरुले नेपालबारे लिफलेट, प्रचार प्रसार सामग्री पर्यटकका हात हातमा थमाइदिन सके धेरै ‘प्लस पोइन्ट’ हुन्छ । बोर्डबाट त्यस्ता सामग्री आउंदैछ । म सरोकारवाला सबैसंग सम्पर्कमा रहिरहनेछु ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५