विप्लव र सरकारबीच वार्ता गर्न दुवै पक्षका वार्ता टोली घोषणा



सरकारी वार्ता टोलीका संयोजक बादल र विप्लव समूहका वार्ता टोली संयोजक प्रकाण्ड
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीचको वार्ताका लागि दुवै पक्षका वार्ता टोली घोषणा भएका छन् । मंगलबार सरकारले दुई सदस्यीय वार्ता टोली घोषणा गरेलगत्तै विप्लव समूहले पनि आफ्नो वार्ता टोली घोषणा गरेको छ ।
वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरिएको छ ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एक पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको घोषणा गरेका हुन् । उनले वार्ताको लागि विप्लव समूहबाट पनि चाँडै वार्ता टोली सार्वजनिक हुने र वार्ता अघि बढ्ने जानकारी दिए ।
सबै सशस्त्र समूहलाई वार्ताकै माध्यमबाट शान्तिपूर्ण बाटोमा फर्काउने सरकारको नीतिअनुसार विप्लव समूहसंग वार्ता हुन लागेको मन्त्री गुरुङले बताए ।
नेपाल सरकारको वार्ता टोली घोषणा भएको केही घण्टामा विप्लव समूहका महासचिव विप्लवले वक्तव्य जारी गर्दै आफ्नो वार्ता टोली घोषणा गरेका हुन् । जसमा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजक र केन्द्रीय सदस्य उदय चलाउने (दीपक) सदस्य छन् ।
यसैबीच, नेकपा प्रचण्ड माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र विप्लवबीच सांच्चिकै वार्ता हुन लागेमा आफूहरुले पनि स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । तर, वार्ताको हल्ला फिंजाएर ’स्टन्ट’ मात्रै गर्न खोजिएको हो कि भन्ने आशंका समेत उनले व्यक्त गरे ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि वार्ताको पहललाई सकारात्मक भनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५