मंगलबार, माघ ८, २०८१
07:21 | १३:०६

अबको प्रधानमन्त्री पनि ओली नै हो: मन्त्री श्रेष्ठ   

संसदद्वारा सरकार हटाउन चुनौती

रासस फ्रेब्रवरी २४, २०२१

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को ३३औँ वार्षिकोत्सवका अवसरमा उनले प्रधानमन्त्रीले कसैले माग्दैमा राजीनामा नदिने बताएका हुन् ।

सत्तारुढ नेकपाका नेता श्रेष्ठले प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गरेर अगाडि बढ्ने जनाउँदै संसद् सञ्चालन भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री ओलीले सामना गर्ने बताए । अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै मन्त्री श्रेष्ठले जनताले नै चुनेर पठाएकाले जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मूल्याङ्कन गर्ने बताए ।
अदालतले संसद् पुनःस्थापनाको फैसला गरेलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँड्दै हिँडेको टिप्पणी गर्दै मन्त्री श्रेष्ठले सपना बाँड्दैमा र सपना देख्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने भनाइ राखे ।
“राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन, सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ”, मन्त्री श्रेष्ठले भने, “अबको प्रधानमन्त्री पनि ओली नै हो । उहाँले नै निर्वाचन गराउनुहुन्छ ।”
श्रेष्ठले सामाजिक सञ्जाल र सडकमा कुर्लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याएर संसद्बाट सरकार हटाएर देखाउन पनि चुनौती दिए ।
मन्त्री श्रेष्ठले भने, “अब खेल मैदानमा आएको छ, हामीसँग नेपालको राजनीतिका पेले छन्, रोनाल्डो छन्, म्यारोडोना र मेसी हामीसँगै छन्, त्यसैले हामीलाई कुनै समस्या छैन्, जस्तोसुकै परिस्थिति आए पनि राजनीतिक मैदान छाड्नेवाला छैनौं, हाम्रै जीत सुनिश्चित हुनेछ, जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्नेछौँ ।”
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू