सर्वोच्चको ऐतिहासिक फैसला: दाहाल-नेपाल



पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै साँझ माइतीघरमा दीप प्रज्ज्वलन गर्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु । तस्वीर- रत्न श्रेष्ठ, रासस
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको आजको फैसला ऐतिहासिक भएको बताएका छन् । फैसलापछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनीहरुले फैसला सकारात्मक आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
अध्यक्ष दाहालले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको भन्दै यो जनताको जित भएको बताए । उनले भुलभुलैवामा लागेका पार्टीका नेता कार्यकर्तालाई फर्किन समेत आग्रह गरे । उनले भने, ‘ओलीसँग गएका सांसदलाई हाम्रो नेतृत्वको नेकपामा स्वागत गर्न म तयार छु ।” उनले अगाडि भने, “अब सबै भ्रममुक्त हुनुस्, सबै काममा फर्किनुस् ।’
दाहालले अब हुने विरोध जुलुसलाई विजय जुलुसमा परिवर्तन गरेर मनाउन सबै नेता, कार्यकर्तालाई आग्रहसमेत गरे ।
अध्यक्ष नेपालले अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने फैसला गरेर आफ्नो गरिमा बढाएको प्रतिक्रिया दिए । उनले भने, “अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको छ ।”
प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशको पनि इज्जत र प्रतिष्ठा बढाएको बताउँदै नेता नेपालले आम नेपाली जनताको चाहनाबमोजिम संविधानको प्रावधान, मूल्य र मान्यता, त्यसको व्याख्यालाई न्यायाधीशहरुले सही ढङ्गले अगाडि सार्ने काम गरेको बताए ।
उनले भने, ‘यो अत्यन्तै प्रशंसनीय काम भएको छ । सम्पूर्ण नेपाली जनता, राजनीतिक दलहरु जो आन्दोलनमा उत्रिनुभएको थियो, नागरिक समाज, मिडिया, समाजका सबै वर्ग तहका जनतालाई धन्यवाद दिन चाहन्छु ।’
अध्यक्ष नेपालले अब प्रधानमन्त्री ओलीको विरोधमा रहेका दलहरुको संयुक्त सरकार बनाएर अगाडि बढ्ने बताए ।
यसैबीच अध्यक्षद्वयले एकार्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका थिए । फैसलापछि जिल्लाका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ । अध्यक्षद्वय बुधबार हुने कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५