प्रेमिल साँझमा डुबे बेलायतका स्रष्टा दम्पतीहरू
आसफोर्ड, यूके । करिब एक हप्ताअघि बेलायतको पूर्वी दक्षिणी भेगमा पर्ने केन्टमा भारी हिमपात भयो । कठ्याङ्ग्रिदो चिसोले जनजीवन प्रभावित पारिरहेको समयमा भने एक हूल स्रष्टाहरू भने आफ्नो जोडीसँग प्रेमिल मुद्रामा देखा परे ।
आइतबार प्रणय दिवसका दिन विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले प्रेम सिर्जना वाचन कार्यक्रममार्फत् आधा दर्जन बढी स्रष्टा दम्पतीहरूलाई उभ्यायो । सहसचिव एवम् कवि लाहाङ चेम्जोङले कार्यक्रम थालनी गरेलगत्तै सङ्गीतकर्मी थिर थापा मगरलाई डाके । करिब चार वर्ष यता टाढा रहेकी आफ्नी पत्नी टुगा थापालाई समर्पित गर्दै उनले रोमान्टिक गीत गाए । काठमाडौँबाटै भर्चुअल रूपमा जोडिएकी थापा पत्नी हर्षित भइन् । उनले त्यहीँबाट थिरलाई रातो गुलाबको फूल देखाइन् । दुवैको वार्तालाप हेरेर सहभागी सबै दंगदास परे । त्यसपछि, सचिव अमित थेवेको पालो आयो ।
‘पाङग्राको गोलाइ, पृथ्वीको घुमाइ
पानीको यात्रा, जीवनको जात्रा
भनेकै घुमिरहनुरहेछ ।
मेरो शीरमा पनि
तिम्रै तस्वीर घुमिरहेछ फनफनी ।’
कविता सुनाउँदै तीन वर्षभन्दा बढी समययता भेट नभएकी धरानमा रहेकी आफ्नी जोडी शान्ति धिमाललाई कवि थेवेले भर्चुअल माध्यमबाटै फूल र उपहार दिए । सँगै छोटो प्रेमपत्र सुनाए । यति सुनेपछि उनकी पत्नीको आँखा एकाएक रसाएर आयो । उनले पनि थेवेलाई याक्थुङ लिम्बु समुदायमा अत्यन्तै अर्थपूर्ण मानिने साँस्कृतिक चिन्ह सिलाम साक्मा अर्पण गरिन् । यो दृश्यले एकैछिन सबैलाई भावुक बनायो ।
माहोललाई गह्रौँ हुन नदिन सञ्चालक चेम्जोङले तत्कालै स्रष्टा सञ्वीव पारदर्शीलाई बोलाए । ब्रिटिस गोर्खा सैनिकका रूपमा कार्यरत पारदर्शीले जागिरमै रहेको प्रमाण दिँदै सैन्य वर्दीमै गीतकार पत्नी सुष्मा रुपाबुङका लागि भन्दै गजल सुनाए । काखमा रहेकी दुई महिनाकी छोरी सिरिफालाई समात्दै सुनेकी रुपाबुङ मुस्कुराइन् ।
स्रष्टाहरूलाई हौसला दिन अध्यक्ष विजय हितानले आकस्मिक अतिथिका रूपमा निम्त्याएका कवि प्रज्ज्वल अधिकारी कीर्तिपुरबाट झुल्किए । उनले प्रेमको कुनै सीमाना नहुने बताउँदै आफ्ना दुई रचना सुनाएर बिदा भए । उनीपछि कवि औँतारी साइला तम्तयार भए । उनले प्रणय दिवसकै शीर्षकमा कविता सुनाए । उनी पछि, विनेसाम पश्चिम यूकेबाट देवी आले रचना लिएर आइन् । त्यसपछि, पश्चिमबाटै अध्यक्ष लालसुन्दर राईले एक थान कविता पस्के। जीत छन्त्यालले पनि आफ्नो सिर्जना सुनाए ।
घाम डुब्दै गइरहेको बेला सर्जक सुरेन्द्र इङनामले बाँसुरी निकाले । र, ‘यति चोखो यति मिठो दिऊँला तिम्लाई माया’ गीतको बोलमा औँला नचाए । उनले गीति कविता पनि थपे ।
‘भ्यालेन्टाइन डे त यस्तो होस्
साँचो मायामा छेकबार नहोस्
जात, धर्म र वर्गको विभेद नहोस्’
कवि विश्वासदीप तिगेलाले पनि आफ्नी धर्मपत्नी भोजकुमारी थोक्लेनलाई साक्षी राखेर केही पङ्क्तिका गाँठो फुकाले । उनीपछि कवि थेवेले सञ्चालक चेम्जोङको नाम लिए ।
‘त्यो दिन नबोलेरै,
तिमी उकालो लाग्यौ
म ओरालो झरेँ ।
तिम्रो धमिलो चेहरा सम्झेर
चम्किलो बनाउन केही समय लाग्यो ।’
‘क्रसको सम्झनामा’ कविता सुनाउँदै उनले विवाहअघि हुने भौतिक आकर्षणबारे आफ्ना अनुभव शेयर गरे । कार्यक्रमलाई बिट मार्नुअघि विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले आफ्नी पत्नी एवम् कार्यक्रमका परिकल्पनाकार कल्पना हितानलाई बोलाए । प्रथम महिलाको उपस्थितिमा उनले ‘हिउँको सिन्दूर’ सुनाए ।
कार्यक्रममा उपस्थित भएका बीएफबीएसका निर्देशक समेत रहिसकेका खेम गुरुङले स्रष्टाहरूको परिवारमा प्रेमको भावना दर्शिएको देखेर आफूमा बेग्लै उत्साह आएको प्रतिक्रिया दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५