मलेसिया कमाउन गएका १८ नेपाली बाकसमा फर्किए



रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका १८ जनाको शव शनिबार नेपाल ल्याएपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गर्नुअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा तिनको व्यवस्थापन गरिँदै । तस्वीर- रोशन सापकोटा/रासस
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ ।
शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ ।
निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।
मलेसियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ । विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए । ‘नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुखदुःखमा साथमा हुनुपर्छ र छौं, यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ’, उनले भने ।
महिनौँदेखि अलपत्र अवस्थामा रहेका नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ । निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५