बुधबार, माघ ९, २०८१
04:55 | १०:४०

सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

रासस जनवरी २०, २०२१


काठमाडौं । नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो । नेपालमा कोभिड–१९ को सङ्क्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा सङ्क्रमण देखिएको थियो ।

अहिलेसम्म नेपालमा दुई लाख ६८ हजार ३१० जना सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ६२ हजार ६४२ निको, तीन हजार ६९३ सक्रिय सङ्क्रमित र एक हजार ९७५ जनाको सङ्क्रमणबाट निधन भएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले खोप आउने बित्तिकै लगाइने बताए । “भारतबाट खोप आएपछि हामीले भण्डारण गर्नेदेखि सबै जिल्लामा पुरयाउनका लागि ढुवानी व्यवस्थापनको तयारी पुरा छौ”, उनले भने, “त्यसपछि हामीले प्राथमिकरणमा परेका व्यक्तिलाई तुरुन्तै खोप लगाउन शुरु गर्नेछौँ ।”

उनका अनुसार उक्त खोप दुई मात्रा व्यक्तिलाई दिइनेछ । यसरी दुई मात्रा व्यक्तिलाई दिँदा करीब पाँच लाख जनालाई खोप दिइन सकिनेछ । “भारतमा दुई मात्रा दिइएको छ । पहिलो खोप दिएको चार हप्तापछि अर्को मात्रा दिइएको छ”, उनले भने, “नेपालमा पनि दुई मात्रा दिने सोचाइ बनाएका छौँ, तर अझै निर्णय गरेका छैनौं ।” उक्त खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत भने छैन् ।

सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन भएअनुसार अहिले कोभाशिल्ड खोप भारतबाट ल्याई नेपालमा प्रयोग गर्न थालिएको हो ।

खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोप लगाउनका डब्लुएचओको सूचीकृत हुनुपर्ने अनिवार्य छैन । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौँथो नेपालको औषधि व्यवस्थापन विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

कोभाशिल्डलाई भारतले मान्यता दिइ दर्ता गरेको र त्यहाँका नागरिकमा लगाएको तथा नेपालको औषधि व्यवस्थापन विभागले पनि उक्त खोपलाई दर्ता गरेकाले खोपसम्बन्धी दुई मापदण्ड पूरा गरेकाले नेपालमा ल्याई लगाउन थालिएको हो ।

खोप शाखा निर्देशक डा गौतमले भारतमा दर्ता भई त्यहाँ नागरिकमा खोप लगाएपछि नेपाली जनतालाई पनि खोप लगाउन सकिने भएकाले ल्याउन थालिएको बताए । उनका अनुसार उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । कोभाशिल्ड माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिन्छ ।

सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना छ । पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने छ । बिहीबार खोप आइसकेपछि भण्डारण गरेपश्चात् खोप क्रमशः प्राथमिकीरणमा परेकालाई दिइनेछ ।

यस्तै खोप गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भवती हुने महिलालाई भने खोपले हानी गर्दछ । ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी पनि तीव्ररुपमा अगाडि बढाएको उनले बताए ।

कोभ्याक्समार्फत ल्याउने खोपका लागि सरकारले गत मङ्सिर १९ गते (डिसेम्बर ४ तारिक) मा कूटनीतिक पत्र पठाइसकेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।

अहिले विश्वमा फाइजर एण्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भि’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) तथा चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू