बालिका र वृद्धबीचको विवाह प्रहरीले रोक्यो



सांकेतिक तस्विर
सप्तरी । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कंकाालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।
रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो ।
स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले जानकारी दिए ।
बालिकाका बुवाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा छलफलपश्चात आरोपितलाई बालविवाह नगराउने शर्तमा छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार उमेर नपुगेकाले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने शर्तमा छाडिएको छ ।
विवाहका लागि छलफल गरिरहेको सूचना पाएर नियन्त्रणमा लिइएको चार जनालाई बालविवाहसम्बन्धी कानूनी जानकारी दिई सम्झाइबुझाई उमेर नपुगी विवाह नगर्ने, नगराउने कागज गराई छाडिएको उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५