मंगलबार, माघ १, २०८१
02:58 | ०८:४३

प्रतिनिधिसभा पुनःस्थापना कुनै हालतमा हुन सक्दैन: प्रधानमन्त्री

रासस जनवरी १०, २०२१

प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै । तस्बिर- रोशन सापकोटा/रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने जिकिर गरेका छन् । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै ओलीले संविधानको व्यवस्थानुसार सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको स्पष्ट पारे । ‘यो राजनीतिक प्रश्न हो, यो आवश्यकताको सिद्धान्तअनुसार गरिएको हो’, उनले भने ।

ओलीले नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्दै संविधानले तोकेबमोजिम जाँदा मुलुकमा अस्थिरता नहुने बताए ।

ओलीले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिएपछि प्रतिनिधिसभा विघटन गरिएको पनि स्पष्ट गरे । लोकतन्त्रमा प्रधानमन्त्रीले गरेको कुनै पनि सिफारिश राष्ट्रपतिले सदर गर्नुपर्ने संवैधानिक व्यवस्थाका बारेमा अवगत गराउँदै उनले त्यसमा न्यायसङ्गत भए नभएको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले लिनुपर्ने बताए ।

भारत र चीनबाट भएका पछिल्ला केही नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको भलो चिताउने मुलुकबाट आउँछन्, कुरा गर्छन् र जान्छन् ।’

उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आगामी माघ १ गतेदेखि भारत भ्रमण गर्ने जानकारी दिँदै उक्त भ्रमणमा द्विपक्षीय हित, नेपालको नयाँ नक्सालगायत विषयमा छलफल हुने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू