बेलायतमा अक्सफोर्डले बनाएको कोभिड खोप बाँड्न शुरु
पहिलो डोज ८२ वर्षीय ब्रायन पिंकरलाई
लण्डन । बेलायतमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीद्धारा संयुक्त रुपमा निर्मित कोभिड खोपको आम वितरण शुरु गरिएको छ ।
यसअघि फाइजर बायोनटेकको कोभिड खोप दिने पहिलो देश बनेको बेलायतले सोमबारदेखि आफ्नै देशमा निर्मित खोप दिन थालेको हो ।
अक्सफोर्ड खोपको पहिलो डोज बिहान साढे ७ बजे अक्सफोर्डस्थित चर्चिल अस्पतालमा ८२ वर्षीय ब्रायन पिंकरलाई दिइएको थियो । दुवै मृगौला बिग्रेर वर्षाैंदेखि नियमित डायलालिस गराउँदै आएका वृद्धले अक्सफोर्डमै विकसित ऐतिहासिक खोपको पहिलो डोज पाउँदा आफूलाई सांच्चिकै ‘गौरवान्वित’ महशुस भएको बताएका छन् ।
बेलायतका लण्डन, अक्सफोर्ड, ससेक्स, ल्यांकाशायर र वारविकशायस्थित ६ वटा ‘हस्पिटल ट्रस्ट’ ले सोमबारदेखि अक्सफोर्डको कोभिड खोप बाँड्न थालेका हुन् । सोमबार नै खोपको ५ लाख ३० हजार डोज वितरणका लागि तयारी अवस्थामा छ । यही साताभित्रै देशभरका सयौं जीपी सर्जरी र केयर होमहरुमा समेत लाखौं डोज पठाइने बेलायत सरकारको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।
बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कोरोना महामारीविरुद्धको लडाईंमा अक्सफोर्डको खोप ठूलो सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् । आउँदा केही साताहरु सहज नहुने भन्दै उनले महामारीबाट मुक्तिको लागि खोप नै अन्तिम विकल्प हुने बताएका छन् ।
बेलायतमा हालसम्म फाइजर-बायोएनटेक खोपको दश लाख बढी डोज वितरण भइसकेको छ । कतिपय मानिसले खोपको दोस्रो डोज समेत पाइसकेका छन् ।
बेलायतले एक साताअघि मात्रै अक्सफोर्ड-एक्सट्राजेनेका खोपलाई आम प्रयोगको अनुमति प्रदान गरेको थियो । यो खोपको १० करोड डोज बेलायतले सुरक्षित गरिसकेको छ । अक्सफोर्ड र फइजर-बायोनटेक दुवै गरी अहिलेसम्म देशको पूरै जनसंख्यालाई आवश्यक डोज सुरक्षित गरिसकिएको सरकारले बताएको छ ।
तुलनात्मक रुपमा व्यवस्थापन र भण्डारणका लागि अक्सफोर्डको खोप बढी सहज छ । फाइजर-बायोएनटेकको खोप माइनस ७० डिग्रीको तापक्रममा स्टोर गर्नुपर्नेमा अक्सफोर्डको खोप सामान्य तापक्रमको फ्रिजमा राख्न सकिने बताइएको छ । त्यस्तै, फाइजर-बायोएनटेकभन्दा झण्डै ५ गुणा कम खर्चिलो अक्सफोर्ड खोपको एक डोजको मुल्य ३ पाउण्डभित्रै पर्ने भनिएको छ ।
अक्सफोर्ड-एस्ट्राजेनेका खोप वितरणको लागि बेलायतभरमा १ हजार बढी खोप केन्द्रहरु स्थापना गरिंदैछ । केयर होमका बासिन्दा र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी एवम् कर्मचारी, ८० वर्ष माथिका वृद्धवृद्धा र एनएचएस ‘फ्रन्टलाइनर’ हरु खोप पाउने पहिलो प्राथमिकतामा छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५