बिहीबार, माघ १०, २०८१
02:40 | ०८:२५

रूसको स्पुतनिक–भि खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना   

रासस-एएफपी डिसेम्बर २९, २०२०

ब्युनस आयर्स । अर्जेन्टिनाले रूसले विकसित गरेको स्पुतनिक–भीको खोप प्रयोग गर्दै कोभिड–१९ विरुद्धको निमुलिकरण अभियान मङ्गलबार आरम्भ गरेको सरकारी अधिकारीले जनाएका छन् ।

महामारीको बिरूद्ध यो खोप प्रयोग गर्ने यो पहिलो अमेरिकी मुलुक हो ।

यो खोप अभियान देशभरि एकैसाथ सुरु भएको र सुरुमा स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारी खोपको प्राथमिकतामा परेको अर्जेन्टिनाका स्वास्थ्य मन्त्री जीन्स गोन्जालेज गार्सियाले बताए ।

राजधानी ब्यूनस आयर्सको पोसाडास अस्पतालमा बोल्दै उनले भने, “हामीले आफ्नो ख्याल राख्नु पर्ने छ । खोपको व्यापक प्रभाव हुन केही महिना लाग्नेछ ।”

खोपको सुरुवात फ्लाभिया लोयाकोनो नामका एक महिला चिकित्सकबाट गरिएको उनले बताए । अहिलेसम्म मेक्सिको, कोस्टारिका र चिलीपछि अर्जेन्टिना खोप अभियान सञ्चालन गर्ने चौथो ल्याटिन अमेरिकी देश हो ।

कोभिड–१९ विरुद्धको रूसी उत्पादनको पहिलो तीन लाख मात्रा अर्जेन्टिनामा क्रिसमस पूर्व नै आइपुगेको थियो । उक्त खोपलाई दुई पटक लिएपछि कोभिड–१९ सङ्क्रमणको जोखिम नरहने अनुसनधानले देखाएको खोप निर्माता कम्पनीका अनुसन्धान विज्ञहरूले बताएका छन् ।

अर्जेनिटनामा आगामी फेब्रअरीसम्ममा करिब दुई करोड खोप पुग्ने र जोखिमको प्राथमिकताका आधारमा नागरिकहरूलाई खोप दिइने मन्त्री पोसाडासले बताए ।

अर्जेन्टिनाले रूसी खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि उसले अक्सफर्ड विश्वविदालय र अस्ट्राजेनिकाले विकास गरेको खोप लिनका लागि फाइजर–बायोएनटेकसँग पनि सम्झौता गरेको छ र यसलाई देशमा ल्याउनका लागि निर्माता कम्पनीहरूसँग छलफल गरिरहेको बताइएको छ ।

अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमित झण्डै ४३ हजार व्यक्तिको मृत्यु भएको छ भने करिब १६ लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू