बुधबार, माघ २, २०८१
13:53 | १९:३८

कोरोनाका कारण युरोपमा देखिएन क्रिसमसको चहलपहल

बेलायतमा नयां प्रतिबन्धले गर्दा क्रिसमस खल्लो

रासस-सिन्ह्वा डिसेम्बर २६, २०२०

ब्राटिसलभा १० पुस–युरोपमा यस वर्ष क्रिसमसको अवसरमा यहाँका नागरिकहरुले विदा मनाउन पनि पाएनन् । कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या भएको हो ।

युरोपमा क्रिसमस शुरु भएको छ र आगामी केही दिन योसँगै नयाँ वर्षको अवसरमा पनि विदा दिइएको छ । तर पनि नागरिकहरु विदाका साथै क्रिसमसको अवसरमा समेत घरबाट बाहिर निस्किन पाएका छैनन् । धेरै जना नागरिकलाई एकै पटक एक स्थानमा जम्मा हुन दिइएको छैन् भने कतिपय स्थानमा त घरबाहिर जान पनि नपाइने गरी कडा खालका प्रतिबन्धहरु लगाइएको छ ।

होटल/रेष्टुरेन्ट साँझको छ बजे नै बन्द गर्न भनिएको छ भने होटल तथा पार्टी गर्ने स्थानहरुमा यस्ता समारोहको आयोजना गर्न पनि दिइएको छैन् । युरोपका बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा भाइरसको दोस्रो लहर आएको छ । यसले गर्दा क्रिसमसको समयमा यसअघि कहिल्यै पनि नभोगेको समस्या युरोपका प्राय देशका नागरिकले भोगेका छन् ।

बेलायतमा त कोरोना भाइरस जिवाणुको नयाँ स्वरुपको प्रकोप नै भेटिएको भन्दै यहाँका कतिपय स्थानमा कडा खालका प्रतिबन्धहरु लगाइएको छ । बेलायत सरकारले गएको बुधबार पनि यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको छ । ती स्थानमा नागरिकलाई घरबाट बाहिर पनि निस्किन दिइएको छैन् ।

यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् । यसका कारण युरोपका नागरिकले क्रिसमसको अवसरमा कुनै पनि समारोह गर्ने र आनन्द लिने काम गर्न पाएनन् ।

बेलायतमा केही हप्ता यता देखि कडा खालका प्रतिबन्धहरु लगाइएको थियो । यसपछि पछिल्ला केही दिन यता यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्ध लगाइएको थियो ।

बेलायत र अरु पनि कैयौँ देशमा क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाइएको छ । जर्मनी, बेलायत र फ्रान्सकै पनि कतिपय स्थानका मानिसलाई घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको अधिकारीहरुले जानकारी गराएका छन् ।

युरोपका देशहरुले कोरोना भाइरसको प्रकोपको थप समस्याको आंकलन गरेर क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनी कडा खालका नियमहरु बनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू