बुधबार, माघ ९, २०८१
10:04 | १५:४९

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा सडकमा 

रासस डिसेम्बर २५, २०२०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड’ । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनका विरुद्ध सडक आन्दोलन थालेको छ । नेकपाको बिहीबार सम्पन्न तेस्रो केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

माइतीघर मण्डलमा आज आयोजित करीब एक घण्टाको विरोध प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी र केन्द्रीय कमिटी सदस्य, राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका सदस्य तथा विभिन्न जनवर्गीय सङ्गठनका नेता सहभागी थिए ।

विरोध प्रदर्शनमा सहभागीले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका थिए । प्रदर्शनमा सहभागी नेता तथा वर्तमान र पूर्वसांसदले प्रतिनिधिसभा भङ्ग नभएको सङ्केत दिन ‘हामी यही छौँ’ भन्ने पम्पलेट बोकेका थिए । निर्वाचन चिह्न आफूहरुकै रहेको जिकिर गर्दै उनीहरुले ‘सूर्य’ चिह्न बोकेका थिए ।

नेकपाको आधिकारिकता आफूहरुसँगै रहेको जनाउ दिन नेताकार्यकर्ता माइतीघरबाट नाराजुलूस गर्दै भद्रकाली, रत्नपार्क हुँदै कान्तिपथस्थित निर्वाचन आयोग पुगेका छन् । नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेलगत्तै विवेकशील साझा पार्टीका कार्यकर्ताले पनि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू