सात मन्त्रीद्वारा सामूहिक राजीनामा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सात मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा आफूहरुको असहमति रहेको भन्दै राजीनामा दिएको उनीहरुले पत्रकार सम्मेलनमा जानकारी दिए । सो अवसरमा वितरित प्रेस नोटमा भनिएको छ, ‘प्रतिनिधिसभाको विघटनको प्रस्तावलाई रोक्न हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ । गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेश विपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर अहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा दिएका छौँ ।’
मुलुकको राजनीति र पार्टीमाथि आइपरेको यो अकल्पनीय स्ङ्कटको अवस्थामा नेपाली जनताको त्याग र बलिदानबाट आर्जिएका राजनीतिक उपलब्धि र पार्टी एकतालाई बचाउन आफूहरु सधैँ झैँ प्रतिवद्ध र सक्रिय रहने उनीहरुको भनाइ छ ।
राजीनामा गर्नेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कृषि पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५