बुधबार, मंसिर १२, २०८१
04:38 | १०:२३

अमेरिकामा सोमबारदेखि कोरोना खोप लगाउने तयारी

रासस/एएफपी डिसेम्बर १३, २०२०

वासिङटन, २८ मङ्सिर–कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ ।

खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो ।

यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो ।

सो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

“अत्यावश्यक परेका सवैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौँ भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार कामहरु भइरहेको छ,” खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।

उनीहरुका अनुसार शुरुमा यो सप्ताहन्तसम्ममा तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाउने कार्य भइरहेको छ ।

दैनिक मृतकहरुको सङ्ख्या उच्च हुंदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३,३०९ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या अमेरिकामा एकैदिनमा कोरोनाका कारण मृत्यु भएकाहरुको सवैभन्दा ठूलो सङ्ख्या हो । त्यसैगरी यो सङ्ख्या विश्वमै पनि कोरोनाका कारण एकैदिनमा मृत्यु भएकाहरुको सबैभन्दा धेरै सङ्ख्या भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

केही समय कम देखिएको मृतकको सङ्ख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ ।

मृतक र सङ्क्रमितहरुको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।

खोप प्रयोग गर्ने पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मङ्गलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् ।

पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू