बिहीबार, पुष २५, २०८१
20:28 | ०२:१३

युद्ध र वातावरण गीत सिर्जनाको तयारीमा बेलायतका नेपाली सर्जक

नेपाली लिङ्क डिसेम्बर १३, २०२०


केन्ट । बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पुर्‍याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् ।

आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई फरक विषयमा रचिएका गीतहरू निर्माण हुँदै गरेको विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले जनाएको छ ।

करिब दर्जन बढी सर्जकहरूले सिर्जना गरेका गीतहरू संकलन गर्ने र धमाधम संगीत भर्ने काम भइरहेको महासंघले जनाएको हो । 

इको साहित्य र युद्ध साहित्यलाई प्रबर्द्धन गर्दै जनस्तरसम्म संवेदनशील विषयवस्तुसँग अवगत गराउन महासंघ गीति परियोजनामा काम गरिरहेको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जानकारी दिए । उनका अनुसार परियोजनको जिम्मा उपाध्यक्ष एवम् संगीतकार थिर थापा मगरले गरिरहेका छन् । 

‘संस्थाको बैठकले रचना संकलनदेखि संगीत संयोजन गर्ने गरी उनलाई काम तोकेको छ,’ अध्यक्ष हितानले भने । उनले परियोजनाको प्राविधिक एवम् व्यवस्थापकीय पक्षबारे आगामी बैठकले निर्णय गर्ने बताए ।


यसैगरी, शनिबार बसेको दोस्रो बैठकले आगामी वर्ष जनवरी ३ तारिख १२६ औँ मास्टर मित्र सेन थापा जयन्ती समेत मनाउने निर्णय गरेको छ । सैनिक जीवन त्यागेर कला, साहित्य र लोक सङ्गीतमा लागेका मित्र सेनको कृतित्व र व्यक्तित्वको स्मरण गर्न यूके, नेपाल, भारत लगायतका मुलुकरूबाट सम्मिलित सर्जकहरूको अन्तर्राष्ट्रिय साहित्यिक विमर्श राख्ने अध्यक्ष हितानले सुनाए । कार्यक्रममा मास्टर मित्र सेनको युद्ध साहित्यबारे चर्चा परिचर्चा हुनेछ । 

सेनका ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान’, ‘गोर्खाली भयो’ लगायतका गीतहरू चर्चित छन् । बैठकले गत नोभेम्बर ७ तारिखमा पप्पी डेको पूर्वसन्ध्यामा आयोजना गरेको युद्ध साहित्य गोष्ठीको पनि समीक्षा गरेको थियो ।

बैठकलगत्तै, दोस्रो चरणअन्तर्गत भएको साहित्यिक भेटघाटमा संस्थाका सदस्य एवम् कथाकार टीमाया राईद्वारा लिखित ‘गन्तव्य’ कथा संग्रह पनि विमोचन गरिएको थियो । हस्तबहादुर राईले प्रकाशन गरेको संग्रहमा २५ कथा समावेश छन् । आसफोर्डनिवासी राईको यसअघि गीति संग्रह आइसकेको छ ।

विमोचित कृतिउपर कवि लाहाङ चेम्जोङले समीक्षा गर्दै पुस्तकमा प्रवासीको पीडादेखि यौन मनोविज्ञानसम्मका विषयहरू कथाहरूमा समेटिएको धारणा राखे । विनेसाम वेस्ट यूके शाखाका पदाधिकारी र सदस्यहरू समेत जुममार्फत जोडिएको कार्यक्रमको अन्तिम सत्रमा विभिन्न स्रष्टाहरूले सिर्जना वाचन गरे ।

साढे दुई घण्टे अवधिसम्म चलेको कार्यक्रममा गोमा राना, थिर थापा, औँतारी साइला, किरण चाम्लिङ, जित बूढाथोकी छन्त्याल, जानु काम्वाङ लिम्बु, लाहाङ चेम्जोङ, नानू थापा, खेम गुरूङ, अमित थेवे, विजय हितान र लाल सुन्दर राईले कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरे । 

केही साताअघि मात्रै अधिवेशनबाट नयाँ कार्य समिति गठन भएको वेस्ट यूके शाखासँग साक्षत्कार गर्न पनि कार्यक्रम आयोजना गरिएको सञ्चालक विनेसाम साउथ यूकेका सचिव अमित थेवेले जनाए ।

-अमित याक्थुङ्वे 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू