शुक्रबार, पुष १२, २०८१
20:18 | ०२:०३

बेलायतमा आजदेखि कोभिड खोप दिन शुरु

९० वर्षकी मार्गरेट खोप लिने पहिलो व्यक्ति

नेपाली लिङ्क डिसेम्बर ८, २०२०


लण्डन । बेलायतमा आज मंगलबारदेखि आममानिसमा कोभिड खोप दिने अभियान शुरु भएको छ । ९० वर्षीया मार्गरेट किनन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिने पहिलो व्यक्ति भएकी छन् । युनिभर्सिटी हस्पिटल कोभेन्ट्रीबाट खोप दिन पाउंदा आफू भाग्यमानी महसुस भएको उनले बताएकी छन् ।

उक्त खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट शुरु भएको छ । 

स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डले पनि मंगलबारदेखि खोप वितरण गरेका छन् । बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइने छ । खोप लगाएका प्रत्येक मानिसलाई खोप कार्ड उपलब्ध गराइने भएको छ । 

स्वास्थमन्त्री म्याट हेनककले ट्वीट गर्दै सबै क्षेत्रमा खोप पुगिसकेको जनाएका छन् । 

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा छन् ।

राष्ट्रिय स्वास्थ्य सेवा, इङ्ल्यान्डका मेडिकल डाइरेक्टर प्रोफेसर स्टेफेन पोवीसले यो बेलायतकै इतिहासमा जटिल र वृहत खोप अभियान भएको बताएका छन् ।

एनएचएस इंग्ल्याण्डका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले खोप अभियान कोरोना भाइरसविरुद्धको लडाईंमा निर्णायक मोड (टर्निङ पोइन्ट) भएको प्रतिक्रिया दिंदै आगामी वसन्त ऋतुसम्म खोप कार्यक्रम जारी रहने र यो बेला मानिसलाई धेरै होसियार  रहन सुझाएका छन् ।  

परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको यो खोप बेलायतले २ करोड मानिसलाई पुग्ने गरी ४ करोड डोज अर्डर गरेको छ । २१ दिनको अन्तरमा दुई डोज दिइनेछ ।  

क्रोयडन युनिभर्सिटी हस्पिटलका क्लिनिकल अडिट विभाग प्रमुख डा. सुरजमणि पौडेलले आफ्नो अस्पतालमा बिहान ७ बजेदेखि खोप लगाउन शुरु भएको जानकारी दिए । फाइजर, बायोएनटेक खोप प्राप्त गर्ने उक्त अस्पताल विश्वकै पहिलो हो । ति खोपका कन्टेनर स्पेशल फ्रिजरमा राखिएको छ ।

‘शुरुमा हस्पिटलको बहिरंग विभागमा अपोइन्टमेन्ट भएका ८० वर्ष माथिका, हस्पिटलबाट डिस्चार्ज भएर केयर होममा जाने ८० वर्ष माथिका, फ्रण्टलाइन स्वास्थ्यकर्मी (बढी जोखिममा रहेका) र केयर होममा काम गर्नेलाई खोपको प्राथमिकता निर्धारण गरिएको छ’, पौडेलले भने, ‘हाम्रो अस्पतालमा ठूलो टिम क्रिसमस र नयां वर्षमा समेत नरोकिइ खोप अभियानमा जुटेको छ । कर्मचारीहरु निकै उत्साहित छन् ।’ 

क्रोयडन नेपाली समाजका अध्यक्ष पौडेल आफ्ना करिब ७० प्रतिशत सदस्य फ्रण्टलाइन हेल्थ वर्कर भएकाले नेपाली समुदाय पनि यसबाट लाभान्वित हुने हुंदा गर्व महशुस गर्छन् । 

बेलायतले विश्वमै पहिलोपटक उक्त खोपलाई अनुमति दिएको थियो जुन कोभिडबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । तर, माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा यो अलिक चुनौतीपूर्ण रहेको स्वास्थविदहरुको राय छ ।  

बेलायतले फाइजर र बायोएनटेकको ४ करोड बाहेक अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड, नोभाभ्याक्सको ६ करोड, भल्नेभाको ६ करोड, जिएसके र सानोफी पाश्चरको ६ करोड, जानसेनको ३ करोड र मोडेर्नाको ७० लाख डोज अर्डर गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू