नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु



काठमाडौँ, ११ मङिसर ः परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला बिहीबार काठमाडौँमा नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठकमा सहभागी हुने क्रममा । तस्वीर- रोशन सापकोटा, रासस
काठमाडौं । करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् ।
बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन् ।
त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला आजै काठमाडौँ आएका हुन् । उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए ।
आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा सचिव श्रृङ्गलाले नेपाली भाषामै भने, “विदेश सचिवका रुपमा काठमाडौँ आउँदा मलाई अत्यन्त खुशी लागेको छ, पहिले पनि म काठमाडौँ आएको थिएं तर विदेश सचिवका रुपमा मेरो यो पहिलो भ्रमण हो । भारत र नेपाल निकटतम मित्र हुन्, हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ । ”
उनले आज बिहीबार र भोलि शुक्रबार आफू उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने जानकारी दिँदै शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताए । गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताए । यद्यपि उनले उक्त गुम्बा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उद्घाटन हुनेबारेमा भने केही खुलाएनन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५