बीबीसी टिभी सिरिजमा छाउंदै नेपाली चेली


लन्डन । बीबीसी र अमेरिकी टेलिभिजन च्यानल एफएक्सले संयुक्त रुपमा निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टिभी मिनी सिरिजमा यतिखेर नेपाली चेलीले चर्चा बटुलिरहेकी छन् ।
गाउंकी एक स्थानीय युवती ‘कान्छी’ को भूमिका निर्वाह गरेकी लन्डन फिन्चले सेन्ट्रल निवासी दिपिका कुंवर पहिलो टिभी शोबाटै चम्किएकी हुन् ।
अमेरिकामा एफएक्समा गत सोमबार (२३ नोभेम्बर) र हुलुमा मंगलबार (२४ नोभेम्बर) तीनवटै सिरिज प्रिमियर भएपछि राम्रो प्रतिक्रिया पाएको दिपिकाले जनाइन् ।
‘शुरुमा त डेब्यू प्रोजेक्टको कस्तो रिभ्यू आउने हो चिन्तित थिएं’, दिपिकाले भनिन्, ‘तर सबैतिरबाट सकारात्मक प्रतिक्रिया आउंदा उत्साहित छु ।’ असाधारण प्रेमकथा र रहस्यले मिनी सिरिज उत्कृष्ट बनेको उनको भनाइ छ ।
क्रिसमसका बेला आउंदो डिसेम्बर २५ देखि २९ भित्र बीबीसी वानमा उनको सिरिज प्रसारण हुंदैछ । प्रति सिरिज एक घण्टा लामो हुनेछ ।
सन् १९३० को दशकको समाजमा आधारित ‘ब्ल्याक नार्सिसस’ उपन्यासमा ब्रिटेनको एक कन्भेन्टमा बसोबास गर्ने महिला भिक्षु (नन) हरु नेपाल गएको र त्यहां एउटा दुर्गम ठाउंमा अवस्थित मोपू दरबारमा आफ्नो सम्प्रदाय खडा गर्न खोजेको देखाइएको छ ।
सन् १९३९ मा बेलायती लेखिका मार्गरेट रमर गोडेनले लेखेको उक्त उपन्यासमा आधारित रहेर सन् १९४७ मा बनाइएको फिल्मको रिमेक हो ‘ब्ल्याक नार्सिसस’ । यौन दमन र प्रेम निषेध विषयवस्तुमा केन्द्रित उक्त उपन्यास अत्यधिक विक्री भएको कृतिमा पर्छ ।
बाफ्टा अवार्ड विजेता अमाण्डा कोले लेखेको यस तीन सिरिजमा दिपिकासहित गेम्मा आर्टरर्टन, एलेसान्ड्रो निभोला, आयलिन फ्रेन्सीओसी, रोजी काभालियरो, प्याटसी फेरान, डायना रिग, जिम ब्रोडबेन्ट, जिना मकी, क्यारेन ब्राइसन जस्ता कलाकारको मुख्य भूमिका छ । डेनिस सिनेम्याटोग्राफर सार्लो ब्रुस क्रिसटेन्सनले सिरिज निर्देशन गरेकी हुन् ।
‘ब्ल्याक नार्सिसस’ गत वर्ष अक्टोबरदेखि ४ महिनासम्म नेपालको जोमसोम र यूके पाइनउड स्टुडियोमा सुट भएको थियो । हलिउड कलाकारहरुको साथमा छायांकन क्षण एकदम अविष्मरणीय रहेको दिपिकाले सुनाइन् । निर्देशक, लेखक, कलाकारहरु सबै सहयोगी भएकाले काम गर्न सहज भएको उनको अनुभव छ ।
१७ वर्ष हुंदा आफ्ना बाबा आमासंग बेलायत आएकी दिपिका नेपाल छंदा ड्रामामा रुची भएपनि अभिनय गर्छु भन्ने कहिल्यै सोचेकी थिइनन् । सानैदेखि अमेरिकी टेलिभिजन शो तथा चलचित्रहरु हेर्ने लत भने थियो ।
दिपिकाले बेलायत आएर त्यस क्षेत्रमा थप रिसर्च गर्न थालिन् । साथी संगत र त्यही क्षेत्रका दिग्गजहरु भेट्न थालेपछि उनलाई यसको नशा झन् बढ्न थाल्यो । फिल्म, वृत्तचित्र निर्माण गर्ने विभिन्न संस्थामा इमेल गरेर केही वर्षको प्रयासपछि उनले सन् २०१६ मा एउटा एजेन्टसंग सम्झौता गरिन् ।
लन्डन क्वीन म्यारी युनिभर्सिटीबाट मेकानिकल इन्जिनिरिङमा ग्रयाजुएट गरेकी उनी अथक परिश्रम र अडिसनपछि यस श्रृंखलामा छानिएकी हुन् । ‘मेरो डेब्यू प्रोजेक्टमै प्रमुख भूमिका पाएर चर्चा हुंदा खुशी छु’, दिपिकाले भनिन्, ‘काम गरुन्जेल पनि मलाई टिमबाट धेरै सहयोग भयो । परिवारको समेत साथ पाउंदा मलाई अप्ठेरो महशुस नै हुन पाएन ।’
अभिनय मन पर्ने र यसमा भर्खर करिअर शुरु भएकाले निरन्तरता दिने सोच उनमा छ । नेपाल र नेपाली सिनेमा आफ्नो मनमा रहेपनि अहिले नै नेपाली फिल्म खेल्नेबारे नसोचेको उनले बताइन् ।
नेपाली चलचित्र हलिउडस्तरको हुन असम्भव भएपनि नेपाली प्रतिभाहरु भने सक्षम रहेका उनको बुझाइ छ ।
फूर्सदमा फिल्म, ड्रामा हेर्ने उनको लत छ । बेलायतमा लामो लकडाउन सदुपयोग गर्दै पेन्टिङ सिकेको उनले सुनाइन् ।
बुवा रोहित कुंवर र आमा दीपाकी जेठी छोरी दिपिका परिवारको सपोर्टले नै यस क्षेत्रमा लाग्न सम्भव भएको बताउंछिन् ।
ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५