बेलायतमा उदाइन् नवगायिका दीप्ता, ल्याइन् ‘यो जीन्दगी’


लण्डन । बेलायतको नेपाली समुदायमा गायक दीपक थापा र नृत्यांगना सुनिता गौतम थापाको जोडीलाई धेरैले चिन्छन् । यहाँ आयोजना हुने कयौं कार्यक्रमका स्टेजहरुमा दीपकले गीत सुनाएका छन्, सुनिताले सुन्दर नृत्य देखाएकी छन् ।
कलाकारितामा मात्र नभइ सामाजिक कार्यहरुमा पनि उनीहरु उत्तिकै सक्रिय छन् । सुनिता नेप्लिज नर्सिंग एशोसिएसन यूकेमा अहिले उपाध्यक्ष छन् भने दीपक डाटफोर्ड नेपाली समाजका पूर्व अध्यक्ष हुन् । कोभिड महामारी र लकडाउनका बेला उनीहरुले हरेक शनिबार फेसबुक लाइभमार्फत् मनोरन्जन दिँदै आएका छन् ।
बेलायतका धेरै नेपालीमाझ चिरपरिचत र लोकप्रिय दीपक र सुनिताकी छोरी दीप्ता थापा पनि अहिले गायिकाको रुपमा उदाउँदैछन् ।
दिप्ताको स्वरमा सजिएको पहिलो गीत ‘यो जिन्दगी’ को म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ । दुई वर्षअघि उनले आफ्नो १६ औं जन्मदिनमा काठमाडौंमा रेकर्ड गराएको गीतको म्यूजिक भिडियो भने १८ औं जन्मदिनमा बेलायतमा निर्माण भएको हो ।

दीप्ताले आफ्नो अध्ययन र करियरसंगै सांगीतिक यात्रा पनि अघि बढाउने लक्ष्य राखेकी छन् ।
दीप्ताले आफ्नो पहिलो गीत बिरामी हजुरआमालाई समर्पण गर्दै गाएकी हुन् । आफ्नै आमाकी स्कुले बेलादेखिकी साथी समेत रहेकी गजलकार सञ्जिता देउजाले गीतका शब्दहरु कोरिदिएकी छन् । बेलायतमै बस्दै आएकी रचनाकार देउजा सशक्त गजल एवम् मुक्तकहरुको लागि परिचित छन् । गीतमा संगीत चर्चित संगीतकार शिखर सन्तोषले दिएका छन् ।
लण्डनमै निर्माण गरिएको गीतको म्यूजिक भिडियोमा गायिका दीप्ता आफै देखिएकी छन् । आमा सुनिताकै कोरियोग्राफी रहेको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । रङ संयोजन नविन निरौलाको छ ।
गायिका दीप्ताको पारिवारिक माहोल शुरुदेखि नै सांगीतिक रह्यो । एक दर्जन बढी गीतहरु रेकर्ड गराइसकेका पिता दीपक उनका लागि गुरुजस्तै भए । भारतको इलाहावाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोमा गरेकी आमा सुनिता पनि उनको गायन यात्रामा सधै सहयोगी रहिन् ।

दिप्ताका कलाकार बाबुआमा दीपक थापा र सुनिता गौतम थापा
अंग्रेजी गीतहरु गायनमा समेत विशेष दख्खल र रुची छ दीप्ताको । जसका लागि उनले प्रशिक्षण कक्षाहरु पनि लिंदै आएकी छन् ।
अहिले बेलायतकै एक विश्वविद्यालयबाट इञ्जिनियरिङ गर्दै गरेकी उनले आफ्नो अध्ययन र करियरसंगै सांगीतिक यात्रा पनि अघि बढाउने लक्ष्य राखेकी छन् ।
गत शनिबार एक भर्चुअल कार्यक्रममार्फत दीप्ताको म्यूजिक भिडियो सार्वजनिक गरियो । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले भिडियो विमोचन गरे । त्यसअवसरमा आनन्द कार्की, शर्मिला बर्देवा, न्हू बज्राचार्य, सपनकुमार राईसहितका संगीतकर्मी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, बीबीसी मास्टर सेफ सेमिफाइनालिस्ट सेफ सन्तोष साह, फ्रान्सका उपमेयर मेरी टुर नोन, जर्मनीका सामाजिक अभियन्ता काउन्सिलर जेनेरल राम प्रताप थापा लगायत अतिथिले उनलाई बधाई तथा शुभकामना दिएका थिए ।
यसैगरी मेलिना राई र स्वरुपराज आचार्यले भिडियोमार्फत शुभकामना सन्देश पठाएका थिए । डार्टफोर्ड नेपाली समाजका अध्यक्ष गजेन कटवाल र एनआरएन यूके सचिव जीत रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए ।
हेर्नुहोस् दीप्ता थापाको ‘यो जीन्दगी’:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५