बाइडेन एरिजोनामा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो
वासिंगटन । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन् ।
यो जितसँगै राष्ट्रपति निर्वाचित भइसकेका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ । एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गरेका छन् ।
अमेरिकामा कूल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छन् ।
एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलो पटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् ।
चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत विन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
यसैबीच, बाइडेनले झिनो अग्रता बनाएर जितेका राज्यहरुमा पुनः मतगणना गर्न रिपब्लीकन पार्टीले देशव्यापी अभियान चलाएको छ ।
ट्रम्प अभियानले एरिजोना राज्यमा पनि मुद्दा दायर गरिसकेको छ । राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपामा बाइडेनका समर्थकहरुले जबर्जस्ती मतदानका लागि मानिसलाई उक्साएको रिपब्लीकन समर्थकले आरोप लगाएका छन् ।
हाल झिनो बहुमत प्राप्त गरी बाइडेन विजयी भइसकेका पेन्सिल्भेनिया र जोर्जिया राज्यमा हातले एकएक गरी पुनः मतगणना गर्न लागिएको छ । यी दुवै राज्यले मतगणनाको कार्य सम्पन्न नभएको जनाउँदै राष्ट्रपति–निर्वाचित बाइडेनलाई प्रमाणपत्र दिएका छैनन् ।
मतगणनाको कार्य पूरा नभएको र कानुनी लडाइँ बाँकी रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् भने ह्वाइट हाउसमा अन्तरिम पहुँच दिन अस्वीकार गरेका छन् ।
राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।
राष्ट्रपति ट्रम्पले यसबीचमा रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुका साथै विदेश मन्त्री माइक पोम्पेओलाई विदेश भ्रमणको स्वीकृति दिएका छैनन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५