कोभिड परीक्षण र उपचार निशुल्क गर्ने मन्त्रीपरिषदको निर्णय



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
काठमाडौं । सरकारले कोभिड १९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि गरिएको शुल्क निर्णयको व्यापक आलोचनापछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निर्णय गरेको हो ।
सर्वोच्च अदालत र संसदीय समितिको निर्देशनलाई समेत ध्यानमा राखेर सरकारले यो निर्णय लिएको हो । निर्णय कार्यान्वयनका लागि मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गत शुक्रबार कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो ।
यसअघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो । आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो ।
समितिको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको हो । कोरोना संक्रमित सर्वसाधारणको उपचारबाट पन्छिने गरी असोज १९ को मन्त्रिपरिषद निर्णयको सबैतिरबाट विरोध र आलोचना भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५