विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य


काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निदेशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिएका हुन् ।
शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक र शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत छन् ।
निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएका शाक्यले सोमबार नै प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर आफ्नो पदबहाली गरेका छन् । उनी तीन वर्षदेखि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अध्ययन तथा अनुसन्धानका क्षेत्रमा खर्च हुने पैसा विदेशिनबाट रोक्ने ध्येयका साथ उक्त कम्पनी स्थापना गरेका थिए ।
गत भदौ २९ गतेदेखि घिसिङको चारवर्षे कार्यावधि सकिएपछि मन्त्रालयले उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पदबहालीपछि निमित्त कार्यकारी निर्देशक शाक्यले तत्कालका लागि बत्तीको पर्वसमेत मानिएको तिहारमा विद्युत् पुगेका सबै नेपालीका घरमा सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन आफू र आफ्नो टोली लागिपर्ने जानकारी दिए ।
उनले पछिल्ला दिनमा देखिएका केही समस्या समाधानका लागि समेत आफू लागिपर्ने र त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । उनले भने- ‘दीर्घकालीनरुपमा गर्ने कामका बारेमा भने केही समयपछि मात्रै भन्न सकिन्छ । तत्कालका लागि भने तिहारलाई केन्द्रमा राखेर हामी काम गर्छौं ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५