आइतबार, भदौ २३, २०८१
03:13 | ०७:५८

इंग्ल्याण्डमा अनावश्यक रुपमा बाहिर निस्किए २०० पाउण्ड जरिवाना

नेपाली लिङ्क नोभेम्बर ७, २०२०

फोटो डेली मिरर

लन्डन । बेलायतमा तीव्र फैलिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको एक महिने लकडाउन कार्यान्वयन अगाडि बढेको छ । अत्यावश्यक बाहेकका सम्पूर्ण पसल बन्द गरिएको छ भने लकडाउन अवधिभर मानिसहरुलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कन प्रतिवन्ध गरिएको छ ।

यदि बिना कारण घरबाहिर निस्किएको भेटिए तत्कालै दुई सय पाउण्ड जरिवाना गर्न सक्ने अधिकार प्रहरीलाई दिइएको छ । सरकारद्वारा निर्धारित काम बाहेक बाहिर निस्किएको र कुनै यथेष्ट प्रमाण पेश गर्न नसके प्रहरीले तत्कालै दुई सय पाउण्ड जरिवाना गर्न सक्नेछन् ।

उक्त जरिवाना रकम १४ दिनभित्र भुक्तानी गरेमा पचास प्रतिशत छुट गरि एकसय पाउण्ड मात्र तिर्न सकिनेछ । तर, यस्तो जरिवाना अवज्ञा गरेमा अदालती प्रक्रियामा जानेछ । गल्ती निरन्तर दोहोरिएमा प्रत्येक पल्ट जरिवाना दोब्बर र यो रकम बढीमा छ हजार ४०० पाउण्डसम्म हुनसक्नेछ ।

यदि अदालती प्रक्रियामा गैर यथेष्ट प्रमाण पेश गर्न नसकेमा उच्चतम जरिवाना तिर्नुका साथै ‘क्रिमिनल रेकर्ड’ समेत रहनेछ ।

के के कामले घर बाहिर निस्कन पाइन्छ ?
बेलायात सरकारद्वारा नोभेम्बर ५ तारिखबाट इंग्ल्याण्डमा लागू गरिएको दोस्रो राष्ट्रव्यापी लकडाउनमा निश्चित काम बाहेक घरैमा बस्नुपर्ने नियम छ । घरबाहिर निस्कन परेमा आफ्नो कामको बारेमा यथेष्ट प्रमाण पेश गर्नुपर्नेछ ।

अत्यावश्यक सामग्री खरिद गर्न परेमा वा आफ्नो व्यवसाय सञ्चालन गर्न, बैंकमा पैसा राख्न वा निकाल्न, शारीरिक व्यायाम गर्न, पाठपूजा गर्न, आइतबार हुने ‘रेमेम्बरेन्स डे’ मा जान, घर किन्न, बेच्न र भाडामा लगाउनका लागि प्रोपर्टी एजेन्टकहां जान,  सपोर्ट बब्बल वा चाइल्डकेयर बब्बलमा जान छुट छ ।

टेकवे खाना लिन, फोहोर मैला व्यवस्थापनका लागि जान, काममा जान, तालिम एवम् शैक्षिक गतिविधि र च्यारिटी काम, इमर्जेन्सी केयर सहायता, कानूनी प्रक्रियाका लागि, आफन्तका लागि औषधि उपचार तथा हस्पिटल सम्बन्धि काम प्रयोजन, गर्भवती महिलाको सहायताका लागि निस्कन सकिनेछ ।

यसैगरी ब्लड डोनेशन, कोभिड टेष्ट, मलामी जान, विवाहमा जान (तोकिएको संख्यामा) पशु हस्पिटल तथा पशु व्यायामका लागि, कैदमा रहेका आफन्तसंगको भेटघाट, कुनै पनि व्यक्तिलाई आपतकालीन सहायता प्रदान गर्न, होलिडेबाट फर्किएको अवस्था लगायतका विभिन्न अवस्थामा भने घर बाहिर निस्कन सरकारले छुट दिएको छ ।

तर, दोस्रो घरमा जान तथा ‘होलिडे होम’ मा जानेका लागि भने कुनै उल्लेख गरिएको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू