लन्डनको पशुपतिनाथ मन्दिरमा गरियो घटस्थापना
दशैंभर हरेक दिन पूजापाठ र आरती


लन्डन । नेपालीहरुको महान पर्व दशैंको पहिलो दिन घटस्थापना बेलायतमा पनि मनाइएको छ । लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शनिबार बेलुका विधिपूर्वक घटस्थापना गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीका अनुसार मन्दिरमा घटस्थापनाको पूजा गरी जमरा राखिएको छ । त्यस अवसरमा अस्त्र पूजा, चन्डीपाठ, दुर्गा पूजा लगायतका कार्यक्रम पनि सम्पन्न गरिएको सचिव त्रिपाठीले जानकारी दिइन् ।
दशैं विशेष धार्मिक कार्यक्रमहरु मन्दिरका मूल पन्डित ज्योतिषी निलहरि घिमिरेले सन्चालन गर्नेछन् भने उनलाई पन्डित आनन्द लोहनीले साथ दिनेछन् ।
सम्पुर्ण भक्तजनहरुकाे प्रतिनिधित्व गर्दै नवरात्रीभर प्रमुख कर्ताकाे भुमिका समितिका सदस्य हिरा प्रसाद ओझाले निभाइरहेका छन् ।
मन्दिरमा बेलायतवासी नेपालीहरुलाई वितरण गर्ने लक्ष्यसहित जमरा राखिएको छ ।
मन्दिर व्यवस्थापन समितिले कोरोना महामारीका बाबजुद यो वर्षको दशैंमा दैनिक नवदुर्गा पूजा, चन्डीपूजा, आरती लगायतका कार्यक्रम सन्चालन गरिने जनाएको छ । तर कोभिड नियन्त्रणका लागि सरकारले जारी गरेको गरेको निर्देशिका पालना गर्दै भीडभाड नगरी सामाजिक दूरी कायम गरिने बताइएको छ ।
मन्दिरमा अक्टोबर २३ शुक्रबार सप्तमी (फुलपाती) का दिन बेलुका चण्डीपाठ, दुर्गा पुजाका साथै फुलपाती भित्रयाइने कार्यक्रम छ ।
त्यस्तै, २५ अक्टोबर महानवमीको साँझ चण्डीपाठ, दुर्गा पुजा, कन्याकुमारी पुजा, आरती गरिनेछ । सप्तमी र नवमी दुवै दिनको कार्यक्रम मन्दिरको फेसबुक पेजमा लाइभ प्रसारण गरिनेछ ।
२६ अक्टोबर सोमबार विजयादशमीको दिन बिहान ८.०० देखि दिउसो २.०० बजेसम्म टिका-जमरा, प्रसाद वितरणको कार्यक्रम छ । त्यसअवसरमा मन्दिरमा आउने भक्तजनहरुलाई अनिवार्य मास्क, पन्जा लगाएर आवश्यक सावधानीसहित सामाजिक दूरी कायम गर्दै टीका, जमरा, प्रसाद लिएर ‘वान वे सिस्टम’ पालना गरी यथासक्य चांडो मन्दिरबाट बाहिरिन आव्हान गरिएको छ ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले प्रतिकुल समयमा पनि आवश्यक सतर्कतासहित दशैं विशेष कार्यक्रम गर्ने कोशिश गरिएको बताएका छन् । स्थानीय भक्तजनहरुलाई पनि आवश्यक सतर्कता र सावधानी अपनाएर सहयोग गर्न उनले आग्रह गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५