यूके एनएचएसको सेक्युरिटी जिम्मा नेपाली कम्पनीलाई
बर्कशायर र ह्याम्पशायर एनएचएसलाई सुरक्षा दिँदै गोर्खा सेक्युरिटी सर्भिसेज


लन्डन । बेलायतमा नेपालीले सन्चालन गर्दै आएको एक सेक्युरिटी कम्पनीले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ( एनएचएस )लाई सेक्युरिटी सेवा उपलब्ध गराउने सम्झौता पाएको छ ।
गोर्खा सेक्युरिटी सर्भिसेजले बेलायतको बर्कशायर क्षेत्रमा एनएचएसको लागि सेक्युरिटी प्रदान गर्ने टेन्डर जितेको हो ।
कम्पनीका निर्देशक विष्णु तामाङका अनुसार एनएचएसले आव्हान गरेको टेन्डरमा अन्य कयौं प्रतिस्पर्धी कम्पनीलाई पछि पार्दै गोर्खा सेक्युरिटी सर्भिसेजले यो अवसर प्राप्त गरेको हो ।
‘लामो कागजी काम र छनोट प्रक्रियापछि अन्तत: हाम्रो कम्पनीले यो टेन्डर प्राप्त गरेको छ’, निर्देशक तामाङले नेपाली लिंकसँग भने, ‘हाम्रो टीमको लामो मेहनत आज कदर भएको महसुस भएको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाजस्तो प्रतिष्ठित निकायको लागि सुरक्षा उपलब्ध गराउने अवसर मिलेकोमा हामी निकै उत्साहित छौं ।’
यसअघि कम्पनीले ह्यपशायर क्षेत्रको एनएचएसलाई पनि सेक्युरिटी सेवा प्रदान गर्दै आएको छ ।
अबको तीन वर्ष बर्कशायर र ह्याम्पशायर दुवै क्षेत्रमा कम्पनीले सेवा उपलब्ध गराउनेछ ।
कोभिड १९ महामारीका कारण उत्पन्न असहज अवस्थामा आफ्नो स्वास्थ्यकै जोखिम मोलेर समेत आफूहरु क्रियाशिल रहंदै आएको तामाङले बताए ।

गोर्खा सेक्युरिटी सर्भिसेजका निर्देशक विष्णु तामाङ
‘बेलायतले अहिले महामारीको दोस्रो उत्कर्ष बिन्दु सामना गरिरहेको छ । देशमा लकडाउन जस्तै अवस्था छ । महामारीसँग अग्रमोर्चामा लड्दै गरेको एनएचएसलाई सेक्युरिटी प्रदान गर्ने जिम्मेवारी हाम्रो लागि व्यवासाय मात्र होइन, ठूलो अवसर पनि हो जस्तो लागेको छ’, निर्देशक तामाङले भने ।
बेलायतमा विगत १५ वर्षदेखि सन्चालित गोर्खा सेक्युरिटी सर्भिसेजले सन् २०१२ मा लन्डनमा आयोजित ओलम्पिक खेलकुदका लागि समेत सुरक्षा सेवा उपलब्ध गराएको थियो ।
कम्पनीमा साढे तीन सय सुरक्षाकर्मीहरु कार्यरत छन् । जसमध्ये अधिकांश नेपाली छन् ।
कम्पनीले बेलायतभर सेक्युरिटी सेवा उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५