बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिंदै
ढाका, २६ असोज– बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो ।
धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुन मन्त्री अनिसुल हकले पत्रकारहरुलाई जानकारी दिए ।
उनले अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दण्डसम्मको व्यवस्था गरिएको बताउदै सवैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पारे ।
सरकारले पारित गरेको नयाँ कानुनी व्यवस्थालाई राष्ट्रपति अब्दुल हमिदले चाँडै नै जारी गर्ने पनि उनले विश्वास व्यक्त गरे । अहिले भइरहेको कानुनलाई दु्रत मार्गबाट संशोधन गरेर संसद नभएकाले अध्यादेश मार्फत् यस्तो कानुन जारी गर्न लागिएको हो ।
बलात्कारका घटना निरन्तर भइरहेकाले बङ्लादेशमा विद्यमान कानुन तत्काल संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्न आवाज उठिरहेको थियो ।
गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो ।
विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थालगायतले घटनाको विरोध र कडा कानुनको माग गर्दै राजधानी ढाकामा प्रदर्शन गरेका थिए । उनीहरुमध्ये अधिकांशले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए ।
बङ्लादेशमा गत नौ महिनामा कम्तीमा ९७५ जना महिला बलात्कृत भएको एक संस्थाको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये २०० भन्दा बढी घटना सामूहिक बलात्कारका घटना भएको, ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको विवरण सार्वजनिक भएको छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर सो तथ्याङ्क सकलन गरिएकाले यस्ता घटना अझ धेरै भएको हुनसक्ने अधिकारकर्मीहरुको अनुमान छ । तथ्याङ्कमा जनाइएअनुसार बलात्कार आरोपीमध्ये एक प्रतिशत मात्रै दोषी ठहर हुने गरेको छ ।
अधिकारकर्मीहरुले बलात्कारका घटनामा दोषी उम्किने र उसलाई बचाउन लाग्ने सङ्ख्या पनि धेरै र प्रभावशाली हुनु अर्को दुःखद पक्ष भएको बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५