एनआरएनए यूकेको संघसंस्थासंग अन्तरसंवाद
३१ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति


लन्डन । गैर आवासीय नेपाली संघ यूके संघसंस्था समन्वय विभागले बिहीबार स्थानीय संघसंस्थासंग अन्तरसंवाद गरेको छ ।
समुदाय केन्द्रित संघसंस्थाहरुसंग गत एक वर्षमा संघले गरेका कामको समिक्षा र आगामी कार्यदिशा तय गर्न, संघसंस्थाहरुसंग सम्बन्ध प्रगाढ बनाउन तथा ‘कोभिड १९’ महामारीका बेलाको भूमिका र ‘अबको एनआरएन सबैको एनआरएन’ बनाउन के कस्ता कार्ययोजना बनाउन सकिन्छ भन्ने सन्दर्भमा बृहद छलफल भएको हो ।
‘भर्चुअल’ माध्यमबाट आयोजित उक्त कार्यक्रममा ३१ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो । संघकी अध्यक्ष पुनम गुरुङको आतिथ्य र उपाध्यक्ष तथा संघ संस्था समन्वय विभाग प्रमुख श्रीमति रोजिना प्रधान राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समितिका सदस्य सचिव विष्णु चालिसेले सञ्चालन गरेका थिए । कार्यक्रममा महासचिव फडिन्द्र भट्टराईले कार्यभार सम्हाले देखि हालसम्म वर्ष दिनमा संघले गरेका कामबारे ‘स्लाइड शो’ माध्यमबाट प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
छलफलमा तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ, क्षेत्री समाज यूके अध्यक्ष यज्ञ क्षेत्री, साझा नेपाली समाज मिडल्याण्ड अध्यक्ष महेश अधिकारी, किरांत राई यायोख्खा अध्यक्ष कल्पना राई, क्याट यूके अध्यक्ष जीबन सेन, मगर संघ यूकेकी बरिष्ठ उपाध्यक्ष सीता पुन, आदिवासी महिला महासंघकी अध्यक्ष सरला नेपाल, रेडिङ नेपाली समाजका वरिष्ठ उपाध्यक्ष यादव श्रेष्ठ, भिमसेन खड्का, प्रकाश राउत, महेन्द्र केसी, पशुपति पोख्रेल, नारायण फुयांल लगायतले हालसम्मको कामको समिक्षात्मक टिप्पणी गर्दै सुधारका विकल्प प्रस्तुत गरे ।
छलफलकै क्रममा आइसीसी सदस्य रामशरण सिम्खडा, मानार्थ परिषद सदस्यद्वय रणबहादुर केसी तथा चिरन शर्माले आ-आफ्नो धारणासहित एनआरएनलाई सबैको अपनत्व हुने गरी विकास गर्नु अहिलेको आवश्यकता रहेको औंल्याएका थिए । छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिंदै अध्यक्ष पुनम गुरुङले संस्थाको पारदर्शीता र जवाफदेहीताको ज्ञारेण्टी गर्ने वचनवद्धता जाहेर गरिन् । उनले भ्रामक समाचारका पछि नलाग्न जनमानसमा अपिल गर्दै यो संस्था सबैको हो भन्ने भावना विकास गरि अहिलेका मुलमुद्दा नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट पनि मतदान गर्न पाउने ब्यवस्था र भूतपूर्व गोर्खाको विषय प्रमुख महत्वका साथ सरोकारवाला समक्ष उठान गरिंदै आएको जनाइन् । अध्यक्ष गुरुङले ति विषयमा निकास हुन लागेको जिकिर समेत गरिन् ।
सुझाव राख्ने क्रममा संघसंस्थाका प्रतिनिधिहरुले आधा दर्जन समान प्रकृतिका धारणा राखेका थिए । सहभागीले त्रैमासिक रुपमा यसको मुखपत्र सबैलाई संप्रेषण गर्नु पर्ने, यस्ता प्रकारका छलफलले निरन्तरता पाउनु पर्ने, नागरिकता र गोर्खा मुद्धामा अझै केन्द्रित हुनुपर्ने, आर्थिक पारदर्शीतालाई ध्यान दिनुपर्ने, सामुदायिक भवन परियोजना पुनः चालु हुनुपर्ने, सदस्यता र आइडीकार्डको सहजीकरण र ब्यवस्थित गराउनु पर्ने जस्ता सुझाव दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गरेकी उपाध्यक्ष रोजिना प्रधानले विषय प्रवेश गर्दै भौतिकरुपमा नर्थवेष्ट लण्डनबाट शुरु भएको अन्तसंबाद कोरोना महामारीको कारण स्थगन भै हाल भर्चुअल रुपमा शुरु गरिएको जनाइन् । उनले संघसंस्था भेला (काउन्सिल बैठक) ढिलाई हुंदा संघसंस्थासंगको सम्बन्ध पातलो हुन नदिन, आपसी सद्भाव र सहकार्यका लागि यस प्रकारको कार्यक्रम गरिएको र अर्को शृंखला तत्कालै केही हप्ताभित्र नै गरिने जानकारी दिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५