अल्डरसटमा दिनदहाडै लुटिइन् ७० वर्षीया नेपाली वृद्धा
तीन महिलाले कठोर तरिकाले लुटेको प्रहरी भनाइ



अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टरको सिंढीमा बसिरहेकी वृद्धाबाट दिनदहाडै घाँटीको सिक्री लुटिएको हो
लन्डन । बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटमा दिनदहाडै एक नेपाली वृद्धा लुटिएकी छन् ।
गत सेप्टेम्बर १९ शनिबार दिउँसो तीनजना गोरो वर्णका महिलाहरुले ७० वर्षीया नेपाली वृद्धाले घाँटीमा लगाएको सुनको सिक्री ‘कठोर तरिकाले’ लुटेको ह्याम्प्शायर प्रहरीले जनाएको छ ।
दिउंसो पौने २ देखि सवा २ बजेभित्रको समयमा अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टरबाहिर घटना भएको हो । सेन्टरको सिंढीमा बसिरहेकी वृद्धाबाट लुटेरा महिलाहरुले घाँटीको सिक्री लुटेर भागेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुरुमा दुई अपरिचित महिलाहरु आएर पीडितलाई समय सोध्छन् । उनीहरुले पीडितको ध्यान अन्यत्र मोडेर तेस्रो महिलाले पीडितको पछाडिबाट घाँटीमा लगाएको सुनको सिक्री झम्टिन्छे । र, सिक्री चुंडिएपछि तिनै जना महिला सिक्री लिएर भाग्छन् ।
प्रहरीले लुटपाटमा संलग्नहरुको खोजी भइरहेको भन्दै यसबारे कुनै पनि सूचना भए उपलब्ध गराउन आग्रह गरेको छ ।
साथै, कोही शंकास्पद व्यक्तिले २४ क्यारेटको सुनको चुंडिएको सिक्री बेच्ने कोशिस गरेको पाए १०१ मा रेफरेन्स नम्बर ४४२००३६३९०७ का साथ फोन गर्न प्रहरीले आग्रह गरेको छ ।
वैकल्पिक रूपमा गोप्य तरिकाले ‘क्राइम स्टपर्स’ लाई ०८०० ५५५ १११ मा पनि फोन गरेर खबर गर्न सकिनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५